नेपालगञ्ज। शालिक राख्न दिने र नदिनेहरूकाबीच ब्याप्त तनावकाबीच नेपालगञ्जको वीरेन्द्र चोकमा पूनर्स्थापना गरिएको पूर्व राजा वीरेन्द्रको शालिक बिहिवार राती नै हटाइएको छ। विहानैदेखि शालिक राख्ने र राख्न नदिनेबीच हात हालाहाल समेत भएर पूनर्स्थापना गरिएको शालिक राती नै हटाइएको हो।
तनावकाबीच शालिक र झण्डा गाड्ने काम भएको थियो। यस अघि पनि सो स्थानमा वीरेन्द्रको शालिक नै रहेको थियो। नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो। दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो। त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो।
झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि अर्को पक्षले त्यसलाई रोक्न खोजेको थियो। प्रहरीसँगको झडपमा केही युवा घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अहिले सो क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जनाएको थियो। त्यहाँ ८०-९० जनाको संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीको व्यापक परिचालन हुँदाहुँदै शालिक हटाएकोमा सरकारको संलग्नता देख्नेहरु पनि छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीटमा सरकारको कडा शब्दमा आलोचना गरेका छन्। उनले, 'ईतिहासको सम्मान र संरक्षण गर्न नसक्ने कायर र पाखण्ड म्यादी सरकार धिक्कार छ। shame on you' लेखेका छन्।