काठमाडौ । नेपालगञ्जको बीरेन्द्रचोकमा रहेको बीरेन्द्रको शालिक रातारात हटाईएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको छ । राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले शुक्रबार हाम्राकुरासँग कुरा गर्दै सरकारले जनताको भावना विपरित रातारात छापामार शैलीमा शालिक हटाएको भन्दै यस विरूद्ध कस्तो कार्यक्रम ल्याउने भन्ने विषयमा पार्टीमा शीघ्र छलफल गरी निर्णय गरिने जानकारी पनि दिए ।
उनले सर्वमान्य राजाको रूपमा रहेका वीरेन्द्रको शालिक हठाएपछि सोही स्थानमा कुनैपनि राष्ट्रिय विभूतिको शालिक नराखिएकोमा बीरेन्द्रको शालिक राख्ने स्थानीयको इच्छन विरूद्ध राज्य लाग्नुलाई राप्रपा नेपालले गम्भीर रूपमा लिएको गिरीले प्रतिक्रिया दिए । राप्रपा नेपालको यही राजाबादी सोचका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पार्टी एकीकरण हुन सकेको थिएन ।
बीरेन्द्रको शालिक रातारात हटाईएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार बिहानै सरकार विरूद्ध कडा आक्रोश ब्यक्त गरे । तनावककाबीच बीरेन्द्रचोकका स्थानीयले बिहीबार राखेको मूर्ति बिहीबार राती नै स्थानीय प्रशासनले हटाएपछि अध्यक्ष थापाले आफ्नो ट्वीटर मार्फत् यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले आफ्नो ट्वीटरमा भनेका छन् ‘इतिहाँसको सम्मान गर्न नसक्ने कायर र पाखण्डी सरकार धिक्कार छ ! यही ट्वीटमा रिट्वीट गर्दै राप्रपा नेपालका सचेतक मोहन श्रेष्टले ‘नेपालगञ्जका जनताले स्वतस्फूर्त रूपमा ठड्याएको राजा वीरेन्द्रको शालिक छापामार शैलीमा मध्येरातमा हटाउनु दुखद् हो ।’
बिहीबार नै शालिक राख्न दिने र नदिनेहरूकाबीच ब्याप्त तनावकाबीच नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखिएको थियो । विहानैदेखि शालिक राख्ने र राख्न नदिनेबीच हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो ।
नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो ।
त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि अर्को पक्षले त्यसलाई रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका थिए ।