काठमाडौं। ब्रार्सिलोना स्ट्राइकर लियोनल मेसीको निर्णायक गोलमा अर्जेन्टिनाले उरुग्वेमाथि १-० गोलको जित हात पारेको छ ।
विश्वकप छनौट चरण खेल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसीले पहिले हाफ सकिन दुई मिनेट बाँकी छँदा गरेको गोल नै खेलको निर्णायक गोल सावित भयो । राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका मेसी पुन: टिममा फर्किएका हुन् ।
कोपा अमेरिका कप अन्तर्गत चिलीसँगको फाइनल खेलमा पराजित भएपछि मेसीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । पछि सन्यासको व्यापक आलोचना भएपछि मेसीले सन्यास फिर्ता लिएका हुन् ।
बार्सिलोनाका युवा स्टार नेयमारको सुरुवाती गोलसँगै ब्राजिलले पनि इक्वेडरमाथि ३-० गोलको शानदार जित हात पारेको छ । खेलको ७२ औं मिनेटमा नेयमारले गोल गर्दे टोलीलाई अग्रता दिलाएका हुन् । वाल्टर अयोभी र ग्याबरियल जेससले पनि १-१ गोल गरे ।
यता अर्जेटिना र ब्राजिल विजयी हुँदा कोपा अमेरिका कप २०१६ का विजेता चिली भने पराग्वेसँग स्तब्ध भएको छ । चिली पराग्वेसँग २-१ गोलले पराजित भएको हो । पराग्वेका लागि ओस्कार रोमेरोले खेलको ६ मिनटमै गोल गर्दे टोलीले अग्रता दिलाएका हुन् ।
पहिलो गोल भएको ३ मिनेट बित्न नपाउँदै पाउलो सिल्भाले गोल गर्दे पराग्वेको अग्रता दोब्बर बनाए । खेलको ३६ औं मिनेटमा चिलीका लागि अरटुरो भिडालले १ गोल गरे पनि त्यसले टिमलाई हारबाट जोगाउन सकेन ।
शुक्रबार नै भएको खेलमा बोलिभिया र कोलम्बिया पनि विजयी भएका छन् । बोलिभियाले पेरु र कोलम्बियाले भेनेजुयलालाई पराजित गरेको हो । दुवै टोली २-० गोलले विजयी भएका हुन् ।