- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेकपा (एमाले) ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ। पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, “हामी चुनौती सामान गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो। यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ।”
आजको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस हुने निर्णय गरेको छ। बैठकमा पार्टी अध्यक्ष ओलीले आफूले पेस गर्ने प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था र गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र आगामी निर्वाचनबारे राजनीतिक प्रतिवेदन उल्लेख गरिएको छ।
अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा १३ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखेका छन्। धनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, गोरखबहादुर बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणिचन्द्र थापा, खगराज अधिकारी, सुभाष नेम्वाङ र हिक्मत कार्कीले अध्यक्ष ओलीको प्रतिवेदनमा आआफ्नो धारणा राखे।
ओलीको राजनीतिक प्रतिवेदनमा चुनावमा कसरी जाने, चुनावी रणनीति, आगामी राजनीतिक कार्यदिशा के हो भनेर स्पष्ट हुने प्रमुख गुरुङले बताए। बैठकले तेस्रो केन्द्रीय कमिटीले गरेका निर्णयको अनुमोदनसमेत गरेको उनले जानकारी दिए। निर्वाचन घोषणा मस्यौदा कमिटीले तयार पारेको मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत हुने छैन। यस्तै पार्टीको वार्षिक बजेट पनि आजको बैठकले पास गरेको छ।
पार्टीका नवप्रवेशलाई व्यवस्था गर्नका लागि केही समस्या देखिएमा केन्द्रको अनुमतिमा जिल्ला वा अन्य कमिटीमा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ। केन्द्रीय सल्लाहकार परिषद्मा तीन जनालाई मनोनयन गरिएको छ।
प्रचार विभाग प्रमुख गुरुङका अनुसार कुलभक्त शाक्य, गेभी नेपाली र नवराज पौडेललाई परिषद्मा मनोनयन गरिएको छ। यस्तै विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेकालाई समेत केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ। जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले उम्मेदवार तय गर्नका लागि मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेस गर्ने उनले बताए। एमालेमा आठ लाख ५५ हजार चार सय ५३ पार्टी सङ्गठित सदस्य रहेकामा ५२ हजार पाँच सय ५० पार्टी सदस्य नम्बर सङ्ख्या दोहोरिएको छ। पार्टी सङ्गठन विभागले दोहोरिएको सदस्यता नम्बरको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
आजको बैठकमा गण्डकी प्रदेशको इन्चार्ज बाहेक सबै प्रदेशका इन्चार्जले प्रदेशमा पार्टीको अवस्था, साङ्गठनिक गतिविधि, कस्तो छ भनेर रिपोर्टिङ गरिएको गुरुङले बताए। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो।