arrow

काेराेनाले तिब्बतमा अनिश्चितकालीन लकडाउन, नेपाली सामान बोकेका दर्जनाैं ट्रक अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
Tibet-nepal-broder-covid.jpg

काठमाडौं। चीनको स्वायत्त क्षेत्र तिब्बतमा कोभिड-१९को संक्रमण बढेपछि अनिश्चितकालका लागि लकडाउन जारी गरिएको छ। नेपालसँग सीमा जोडिएको तिब्बतमा पूर्ण लकडाउन भएसँगै नेपाली व्यापारीहरुको सामान बोकेका दर्जनाैं ट्रकहरु पनि बाटोमै अलपत्र परेका छन् ।

रेडियो फ्रि एसियाका अनुसार मंगलबारसम्म तिब्बत स्वायत्त क्षेत्र (टीएआर)मा ५ हजार ८ सय ९२ जनामा कोभिड-१९ पुष्टि भएको छ। आधिकारिक तथ्यांक अनुसार राजधानी ल्हासा र आसपासका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढेसँगै यो आंकडा अघिल्लो दिनभन्दा २११ ले बढी हो।

यस्तै तिब्बतको छिमेकी सिनजियाङ उइघुर स्वायत्त क्षेत्र (एक्सयुएआर)मा पनि कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। मंगलबारसम्म यस क्षेत्रमा ३ हजार १ सय ५४ जनामा कोडिभ-१९ पुष्टि भएको छ। जसमा १७३ जना नयाँ संक्रमित हुन्।

शुन्य कोभिड नीति अपनाएको चीनले एक दुई संक्रमित भेटिदा समेत लकडाउन गर्दै आएको बेला तिब्बतमा संक्रमितको संख्या पाँच हजार नाघेसँगै कडा लकडाउन जारी गरेको हो।

तिब्बतमा अहिले स्वास्थ्य कार्यालयहरु बाहेकका सबै कार्यालयहरु बन्द रहेका छन्। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले सम्बन्धित विभागहरुसँग सम्पर्क गरेर व्यापारिक नाकाको बारेमा सुचना संकलन गरिरहेको बताएको छ।

यस्तै नेपाली महावाणिज्य दुतावासले सीमावर्ती रसुवा र सिन्धुपाल्चोक जिल्ला र परराष्ट्रमन्त्रालयसँग निरन्तर सम्पर्क राखिररहेको जनाएको छ।

तिब्बतमा कडा लकडाउन हुँदा स्याउ, लसून, अन्य खाद्यान्न, विद्युतीय गाडी आदि जस्ता सामग्री चीनतर्फ तिब्बतका विभिन्न स्थानमा रोकिएका छन्। यकिन तथ्यांक नभए पनि कम्तिमा ५० को हाराहारीमा यस्ता ट्रकहरु अलपत्र अवस्था रहेको अनुमान गरिएको छ।

सीमा क्षेत्रमा मात्रै नभएर अन्य चिनियाँ सहरमा समेत लकडाउन हुँदा नेपाली सामान बोकेका अलपत्र परेका गाडीहरुको यकिन विवरण मिलेको छैन्। ल्हासा, सिगात्से, ल्यालाम र केरुड लगायतका ठाउँमा पूर्णरुपमा लकडाउन छ।

एक अधिकारीले यसअघि एक एक दिन थपिँदै आएको लकडाउन यसहप्ताको सुरुदेखि कहिले खुल्छ भन्ने मिति अनिश्चित गर्दै जारी गरिएको बताएका छन्। कोभिड-१९को संक्रमण बढ्दै गएका कारण तत्काल लकडाउन खुल्ने सम्भावना रहेको छैन्।

अनिश्चितकालीन लकडाउन जारी भएसँगै नेपाली सामान बोकेका गाडीहरुको अवस्था के हुने हो भनेर केही भन्न सकिने अवस्था नरहेको ती अधिकारीले बताएका छन्।

विसं २०७२ को महाभूकम्पपछि सुस्त हुँदै आएको केरुङ तथा तातोपानी नाका कोभिड-१९को महामारी सुरु भएपछि झनै सुस्त बनेको थियो।

विगतका वर्षमा समेत कयौं व्यापारीहरुले सामान ढुवानीमा अवरोध भएको गुनासो गर्दै आएका बेला अहिले अचानकको अनिश्चितकालीन लकडाउनले झनैं समस्या पार्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ