सत्ताधारी गठबन्धनमा सिट बाँडफाँडको सकसः भएको १६५, दाबी २२७ को
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
1.2k
Shares
काठमाडौं । सत्ताधारी गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिलेसम्म सिटको बाँडफाँट गर्न सकेको छैन । विवाद मिल्न नसकेपछि बिहीबार साँझ शीर्ष नेताहरुमाझ सिट बाँडफाँटका लागि बनेको कार्यदलले सिटको दाबी पेश गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ–आफ्नो दाबी पेस गरेका हुन् । तर दाबी पेश गर्दा भने सहमति निकै टाढा भागेको स्पष्टै भएको छ । देशभर प्रतिनिधि सभा सदस्यका लागि १६५ क्षेत्र मात्रै रहेकामा गठबन्धन कार्यदलमा दलहरुले २२७ सिटमा दाबी पेश गरेका छन् ।
जसमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ ।
योसँगै बिहीबार साँझको बैठक पनि टुङ्गिएको छ । एक नेताका अनुसार अब शुक्रबार अपरान्ह ४ बजे पुनः बैठक बसेर टुंगोमा पुग्ने दाबी गरिएको छ ।