काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधान र आइसीसीको निलम्बन फुकुवाका विषयमा सरकारसंगै छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको उच्च टोली नेपाल आउँदै छ ।
आईसीसीका प्रमुख कार्यकारी सीइओ सहित उच्च पदाधिकारीको टोली राति काठमाडौं आइपुग्ने भएको हो । टोलीमा एसोसिएट प्रमुख इमरान ख्वाजा र डेभलोपमेन्ट अफिसर अमर शेख र आइसीसी सीइओ डेभिड रिर्चडशन छन् ।
शेख शुक्रबारै नेपाल आएका छन् भने, ख्वाजा र रिचर्डशन राति आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव कुमार विष्टले बताए । टोलीले आइतबार प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई संयुक्त भेट गर्ने कार्यक्रम छ ।
उनले भने, ‘तीन जनाको उच्च टोली आउँदै छ । आइतबार विहान ९ बजेपछि प्रधानमन्त्री निवासमा खेलकुदमन्त्री र मलाई राखेर कुरा हुने भनिएको छ । उहाँहरु पनि तीनै जना रहनु हुन्छ होला ।’ टोलीले सरकारसंगको छलफलपछि आउँदो अक्टोबरमा हुने बोर्ड बैठकमा राख्ने विवरण तयार पार्ने बुझिएको छ ।
९ जना सदस्य रहेको टोली आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजित श्रीपाईलीसंग भेट गरेर दिउँसो अन्य सरोकारवालालाई भेट्दै साँझ फर्किने कार्यक्रम छ ।
अघिल्लो पटक आएको टोलीमा प्रमुख कार्यकारी नआएपछि अन्य अध्ययन गरेपनि प्रधानमन्त्री र खेलकुद मन्त्रीसंग भेट हुन सकेको थिएन । आइसीसीले क्यानलाई निलम्बन गर्दा सरकारको हस्तक्षेपको कारण देखाएकाले सरकारलाई नै सुझाउने तयारी गरेको थियो । यद्यपि, अघिल्लो भ्रमणमा रिचर्डशन नआएकाले सरकारसंग कुरा हुन पाएन ।