arrow

चीनबाट इन्धन आयात गर्ने प्रक्रिया द्रुत गतिमा

logo
प्रकाशित २०७२ मंसिर १७ बिहिबार
काठमाडौँ । सरकारले चीनबाट व्यावसायिक रुपमा इन्धन आयात गर्ने प्रक्रिया द्रुतगतिमा अगाडि बढाएको छ ।  वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात गरिने इन्धनमा लाग्ने कर छुट, आयातलगायत विषयमा चीन सरकारसँग छलफल गरिरहेको छ । मन्त्रालयले गत बिहीबार कर छुटसम्बन्धी आवश्यक निर्णय गरी प्रक्रियागत रुपमा परराष्ट्र मन्त्रालयमा यही मङ्सिर १० गते पत्र पठाएको थियो । 

यस्तै मङ्सिर १४ गते परराष्ट्र मन्त्रालयले चीन सरकारलाई आधिकारिक धारणासहितको पत्र पठाइसकेको छ । परराष्ट्र मन्त्रालयमार्फत पत्र चीन सरकारलाई उपलब्ध गराइसकिएको र सो सम्बन्धमा अर्थ मन्त्रालयले समेत आवश्यक निर्णय गरिसकेको छ । 

गत कात्तिकको अन्तिम साता अनौपचारिक रुपमा चीन भ्रणमा जानुभएका वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चिनियाँ पक्षसँग गर्नुभएको छलफलका आधारमा चीन व्यावासायिक रुपमा इन्धन दिन तयार भएको थियो । 

प्राविधिक तथा अन्य विषयमा छलफल गर्न नेपाल आयल निगमका दुई सदस्यीय प्रतिनिधिमण्डलसमेत चीन गएको थियो । प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत महेश मास्के, निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल सदस्य थिए । 

सो प्रतिनिधिमण्डलका सदस्य बराल भने स्वदेश फर्केर चीनमा भएको छलफल बारे मन्त्रालयलाई जानकारी गराइसकेका छन् । प्राविधिक तथा चीनको इन्धन कम्पनी पेट्रो चाइनालगायत अन्य प्रमुख इन्धन उत्पादक तथा वितरक कम्पनीसँग राजदूत मास्के र नायब कार्यकारी निर्देशक भट्टराईले छलफल जारी राखेका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्री पुनले भने, “चीनबाट व्यावसायिक रुपमा कर छुटसहित इन्धन आयात हुन्छ । त्यसको लागि आवश्यक प्रक्रिया र प्राविधिक विषयमध्ये केही विषय टुङ्गिुसकेको र केही विषय छलफलका क्रममा छ ।” उनले इन्धन आयात गर्न वाणिज्य तथा आपूर्ति, अर्थ र परराष्ट्र मन्त्रालयले पु¥याउनुपर्ने आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढिसकेको समेत स्पष्ट पारे । 

नाकाबन्दी र तराई मधेसको आन्दोलनका कारण विगत ११० दिनदेखि मुलुकमा इन्धन सङ्कट जारी रहेको छ । यही क्रममा चीन सरकारले नेपाललाई कुल १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको थियो । भन्सार, मूल्य अभिवृद्धिकर तथा अन्य कर जोड्दा अनुदानमा प्राप्त भएको पेट्रोलको मूल्य महङ्गो परेपनि व्यावसायिक रुपमा त्यस्तो नहुने जनाइएको छ । 

मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले इन्धन आयातसम्बन्धी सबै प्रक्रिया पूरा भईसकेको र छिट्टै व्यावासायिक सम्झौता हुने जानकारी दिए । उनले नेपालमा उपलब्ध चिनियाँ अधिकारी र नेपाली पक्ष निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै चीनबाट इन्धन आयात हुँदैन कि भन्ने शङ्का नगर्न आग्रह गरे । 

निगमका निर्देशक बरालले इन्धन आयातको विषयमा चिनियाँ पक्षसँग धेरै जसो विषयमा कुराकानी भइसकेको तर केही प्राविधिक विषय भने सुल्झन बाँकी रहेको बताए । चीनले केरुङबाट भन्दा सिगात्सेबाट नै नेपालले इन्धन उठाउँदा आफूहरुलाई सहज हुने भनेको छ भने नेपालले चाहि अनुदानको पेट्रोल उपलब्ध गराएको स्थानबाटै उपलब्ध गराउन आग्रह गरेको थियो । 

केरुङबाट इन्धन आयात गर्न सबै मौसममा केही असहज हुने भएकाले सो विषयमा विचार गरिदिन नेपालले आग्रह गरेको छ । सो मार्गबाट सहज नभएको खण्डमा तातोपानी नाकाबाट इन्धन आयातका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ