arrow

डोटीमा अस्थायी रुट पर्मिट, चर्को भाडा अशुल्नेलाई सबक

विग्रिएका सडकलाई मर्मत गर्न निर्देशन, नयाँ भाडादर असोज १ गतेबाट लागु हुने

logo
प्रकाश बम,
प्रकाशित २०७३ भदौ १८ शनिबार
doti-ko-sadak-pida.jpg.jpeg
डोटी । अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामीण सडकहरुमा नयाँ भाडादर कायम भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो । 
 
नयाँ कायम गरिएको दर अनुसार राजपुर–चवरा चौतारा सडकखण्डमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, दिपायल–मौवा–मेल्लेक–डौड सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, लुहाखडी–धुर्कोट सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, सिलगढी–लडागडा–नारिदाङ सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, बुडर–बाँझिलेक सडकमा जीपमा प्रतिकिलोमिटर ६ रुपैँया र मिनी बसमा ५ रुपँैया, सिलगढी–झिँग्राना सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, दिपायल–कफल्लेकी सडकमा प्रतिकिलोमिटर ७ रुपैँया र विपिनगर–बगछेडा सडकमा जीपमा प्रतिकिलोमिटर ६ र मिनी बसमा ५ रुपैँया निर्धारण गरिएको छ । 
 
कच्ची, धुले बाटो र ग्राबेल गरी तीन तहमा वर्गिकरण गरेर ती सडकहरुमा फरक–फरक दररेट कायम गरिएको निर्णयमा उल्लेख छ । यसअघि अस्थायी परमिट बिनै केही सडकहरुमा सवारी साधनहरुले चर्को भाडा अशुल गरिरहेका थिए । 
 
नयाँ भाडादर कायम भएपछि चर्को भाडामा यात्रा गरिरहेका सर्वसाधारणहरुले थोरै भएपनि राहत महशुस गर्नेछन् । नयाँ निर्धारण भएको भाडादर अनुसार पहिले ८ सय देखि एक हजारसम्मको चर्को भाडादर चलिरहेको राजपुर–चवरा चौतारा ६५ किलोमिटर सडकखण्डमा यात्रुले अब साढे पाँच सय मै यात्रा गर्न पाउने छन् । 
 
अन्य सडकहरुमा पनि पहिलेको तुलनामा भारी मात्रामा भाडा घट्ने भएको छ । नयाँ निर्धारण भएको भाडादर दशैं अगावै असोज १ गतेबाट लागु हुने निर्णय भएको छ । 
 
यस्तै, नयाँ भाडादर लागु हुनु अघि वर्षाको सिजनमा पानीले विग्रिएका सडक मर्मत गर्न सम्बन्धित कार्यालय तथा संघ–संस्थाहरुलाई ताकेता गरिएको छ । जसमा दिपालयल सिलगढी नगरपालिका भित्र पर्ने सडकको मर्मत नगरपालिकाले गर्ने, सिलगढी–झिंग्राना सडकको पनि नगरपालिकाले गर्ने भनिएको छ । 
 
काम गर्दा जिल्ला विकास समितिसंग समन्वय गर्ने सहमति भएको छ । डिभिजन सडक कार्यालय दिपायलले बुडर–बाँझिलेक, वीपीनगर–बागछेडा, दिपायल–कफल्लेकी र दिपायल–चवरा र्चौतारा सडकको मर्मत गर्ने निर्देशन गरिएको छ । सोही बैठकको निर्णयानुसार संचालित सडकमा मिनी बसमा यात्रा गर्ने विद्यार्थी मध्ये २ जनालाई ४५ प्रतिशत छुट र  जीपमा एक जनालाई २० प्रतिशत छुट हुने भएको छ ।
 
यसबाहेक प्रतिघण्टा १५ किलोमिटरका दरले यातायात हाक्न पाउने निर्णय भएको छ । दुर्घटना न्यूनिकरणका लागि यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ