एजेन्सी । विश्वकप छनोट फुटबलमा अमेरिकाले गोलको वर्षा गरेको छ । गए राति भएको खेलमा अमेरिकाले सेन्ट भिन्सेन्टविरुद्ध ६ गोलको वर्षा गरेको हो ।
उत्तर, मध्ये अमेरिका र क्यारेवियन फुटबल एसोसिएशन कोन्काकाफ छनोट अन्तर्गत भएको पाँचौ चरणको खेलमा समूह ‘सी’मा रहेको अमेरिकाले जितसंगै छनोटको सम्भावना बढाएको छ । यो जितपछि अमेरिका १० अंक सहित समूहको दोस्रो स्थानमा पुगेको छ ।
यस्तै, समूह ‘सी’को अर्को खेलमा टोबागो र ग्वाटेमालाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिएपनि टोबागो समूहको शीर्ष स्थानमा छ ।
उता, समूह ए को खेलमा होण्डुरसले क्यानाडाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ । जितसंगै होण्डुरस ७ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । समूह ‘ए’मा मेक्सिको १२ अंक सहित शीर्ष स्थानमा छ ।
यसैगरी, समूह ‘बी’को खेलमा कोस्टारिकाले हाइटीलाई १–० ले हराएको छ । जितसंगै कोस्टारिका १३ अंक सहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । समूह ‘बी’को अर्को खेलमा पानामाले जमैकालाई २–० ले हराएको छ ।