arrow

मेसीले भेनेजुएलाविरुद्धको विश्वकप फुटबल छनोट खेल गुमाउने

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
liyonal-messi-injured.jpeg
काठमाडौं । अर्जेन्टाइनी स्टार लियोनल मेसी चोटका कारण भेनेजुएलाविरुद्ध हुने विश्वकप फुटबल छनोट खेल गुमाउने भएका छन् ।
 
सन्यास घोषणाको निर्णय फिर्ता लिएपछि शुक्रबार उरुग्वेविरुद्ध विश्वकप छनोटको खेल खेलेका मेसी ‘ग्रोइन’ चोटका कारण खेल्न अनसक्ने प्रशिक्षक एड्गार्डो बाउजाले जानकारी दिएका छन् । 
 
अर्जेन्टिनाले आउँदो मंगलबार विश्वकप छनोट अन्तर्गत आठौं चरणको खेलमा भेनेजुएलासँग खेल्ने तालिका छ । अन्तर्राष्ट्रिय फुटबल सन्यासको निर्णय फिर्तापछिको पहिलो खेलमै मेसीले शुक्रबार उरुग्वेविरुद्ध निर्णायक गोल गरेका थिए ।
 
उनकै गोलले अर्जेन्टिना १–० ले विजयी हुँदै दक्षिण अमेरिकी समूहको अंक तालिकामा शीर्ष स्थानमा पुग्यो । सो खेलपछि मेसीले ‘ग्रोइन’को चोटले आफूलाई साह्रै ग्राहो भएको प्रशिक्षक बाउजालाई सुनाएका थिए । 
 
प्रशिक्षक बाउजाले भनेका छन्, ‘मेसीले खेल्न सक्दैनन् । हामी कुनै खतरा मोल्न सक्दैनौं ।  हामीले उनको ध्यान दिन आवश्यक छ ।’
 
मेसीले कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसंग पराजित भएपनि नैतिकताका आधारमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए । समर्थकको चौतर्फी दबाबपछि मेसीले राष्ट्रिय टोलीप्रति चिन्ता रहेको भन्दै निर्णय फिर्ता लिई पुनः राष्ट्रिय टोलीमा फर्किएका हुन् । 



नयाँ