काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारको चुतौतीपूर्ण आलोचना गरेका छन् । उनले दाहाल सरकारलाई राजावादी शैलीको सरकारको संज्ञा दिएका छन् ।
शनिबार राजधानीमा पत्रकार अनिल थापाद्धारा लिखित ‘अविराम बाबुराम’ पुस्तकको विमोचन कार्यक्रममा भट्टराईले दाहाल सरकारलाई लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सरकारसँग तुलना गरे । भट्टराईले आफु दाहालको ठाउँमा भए सरकारमा नजाने घोषपेच लगाए ।
भट्टराईले भने, ‘व्यवस्थापिका संसदको तेस्रो पार्टीले सरकारको नेतृत्व गर्नु गैरराजनीतिक चरित्र हो । हिजो बहुदलीय व्यवस्था पनि त्यहीँबाट बदनाम भएको हो ।’ उनले कांग्रेस र एमाले ठूलो शक्ति थिए तर, १५–२० सिट भएको राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई एमालेले, सूर्यबहादुर थापालाई कांग्रेसले प्रधानमन्त्री बनाएको इतिहास छ । त्यसैले हिजो र आजमा के फरक छ ? ।’ संसदीय व्यवस्थामा बहुमत प्राप्त दलले सरकार बनाउने उल्लेख गर्दै भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।
उनले थपे, ‘पहिलो संविधानसभामा पनि माओवादी र कांग्रेस मिलेका भए एमालेका साथीहरुले त्यो समस्या झेल्नुपर्दैनथ्यो ।’ सत्ता परिवर्तनको खेलले नै पहिलो संविधान सभाबाट संविधान जारी हुन सकेन ।
भट्टराईले पूर्व सहयात्री दाहालले सरकारको नेतृत्व गरेर गल्ती गरेको तर्क गर्दै भने, ‘अहिले म प्रचण्डजीको ठाउँमा भए सत्तामा जान्न थिएँ । बरु उहाँले संविधान कार्यान्वयन गरौं त्यसमा म सहयोग गर्छु भनेर कांग्रेस–एमालेलाई भन्न सक्नु पथ्र्यो ।’ संसदमा रहेका मुख्य तीन शक्ति सरकार बनाउने र गिराउने खेल मात्रै खेलिरहने हो भने आगामी डेढ वर्षभित्र संघीय संरचना अन्तर्गतका तीनवटै निर्वाचन हुन नसक्ने भट्टराइको जिकिर छ ।
नयाँ शक्ति बनाउने निर्णय २०३४ सालकै भएको बताउँदै भट्टराईले भने, ‘मैले जुन ढंगले ३४ सालमा यात्रा गरे त्यस बेला म कार्य समितिमा पनि थिएन । मैले त्यही बेला नै नयाँ शक्तिको कल्पना गरिसकेको थिएँ ।’ भट्टराईले मानव जातीको सेवाका लागि नेपालमा राजतन्त्रको अन्त्य गरेर सम्मुन्नत समाज निर्माण गर्न आफु अभियानकै रुपमा अघि बढेको बताए ।
विगत सम्झिँदै उनले भने, ‘त्यस बेला माक्सवादलाई हतियारको रुपमा प्रयोग गरेकै हो । रेडिकल माओवादलाई पनि प्रयोग गरेकै हो । लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि र संविधान सभाबाट संविधान जारी गरेर लोकतान्त्रिक प्रक्रिया पुरा गरिसकेपछि अब नेपाल अर्को चरणमा प्रवेश गरेको छ ।’ उनले नेपाल अर्को चरणमा जान त्यही पुरानै सैद्धान्तिक आधार हुनु हुँदैन भन्दै माओवादी छोड्ने निष्कर्षमा पुगेकै हो– भने । भट्टराईले सीमांकनको मुद्दा टुंग्याएर विभिन्न जात जाती र भाषाभाषीका माग सम्बोधन गर्नु पर्नेमा समेत जोड दिए ।