काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमणका क्रममा काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) बारेमा ‘फ’ समेत उच्चारण नगरेको स्पष्टीकरण दिएका छन् ।
राजधानीमा शनिबार सञ्चारकर्मीसंगको छलफलमा दुई छिमेकीसँग असल सम्बन्ध राख्दै नेपालको आर्थिक समृद्धि गर्न सरकारले जोड दिएको स्पष्ट पार्दै उपप्रधानमन्त्री निधिले दु्रतमार्गबारे कुनै पनि कुरा नभएको सुनाए । उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा मैले गरेको भारत भ्रमण सफल रह्यो ।’
त्यसक्रममा उपप्रधानमन्त्री निधिले चीन र भारतका राष्ट्रपति एवं प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने जानकारीसमेत दिए । यस्तै, निधिले सहजतापूर्वक संविधान कार्यान्वयनका लागि नै संविधान संशोधन गर्न लागिएको बताए ।
उनले थपे, ‘संविधानप्रति सबैको अपनत्व गराई सहज कार्यान्वयन गर्न संशोधन गर्न लागिएको हो, संशोधनमा राजनीतिक सहमति कायम गरिनेछ, यसमा तराई मधेसलगायतका असन्तुष्ट पक्षका मागलाई सम्बोधन गरिनेछ ।’
उपप्रधानमन्त्री निधिले संविधान संशोधनका विषयमा सबै राजनीतिक दलका शीर्ष नेतृत्वमा गहनरुपमा कुराकानी भइराखेको र छिट्टै निकास निस्कनेसमेत जानकारी दिए ।
निधिले शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने, संविधान संशोधन गरी सबैलाई ग्राह्य बनाउने र तीनै तह (स्थानीय, प्रदेश र केन्द्रीय संसद्)को निर्वाचन गराउनु नै वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको समेत सुनाए ।
यी तीनै मुख्य कार्यभार पूरा गर्न नै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का बीच सातबुँदे सहमति भएको हो, यो कार्यभार वर्तमान सरकारले पूरा गर्छ र यी कार्यभार पूरा नहुञ्जेलसम्म नेका र केन्द्रका बीचमा सहकार्य जारी पनि रहन्छ –निधिले भनेका छन् ।
उनले शान्ति सुरक्षाको अवस्थालाई अझ सुदृढ बनाई जनताको जीउ धन रक्षा गर्न आफ्नो मन्त्रालयले कार्ययोजना बनाई काम सुरु गरिसकेको चर्चा गर्दै यसको अनुभव जनताले छिट्टै महसुस गर्ने उल्लेख गरे ।