arrow

यी हुन् सांसद बन्न तम्सेका युवा इन्जिनियर प्रेमचन्द्र राय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
prem-chand-raya-congress.jpg

महोत्तरी । आगामी मंसिर ४ गतेको आम निर्वाचनमा विभिन्न दलहरुबाट सिफारिस भएका उम्मेद्वारहरुको चर्चा यतिबेला बढ्दै गएको छ । सो क्रममा मधेस प्रदेशको राजनैतिक ‘हब’ मानिने महोत्तरी जिल्लाको क्षेत्र नं ४ (ख) प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस भएका ई. प्रेमचन्द्र राय  जिल्लावासीहरुको चर्चाको विषय बन्न पुगेका छन् । 

३५ वर्षे इन्जिनियर राय नेपाली कांग्रेस केन्द्रीय परिपत्र अनुसार सिफारिस भएका हुन् । उनीसँगै प्रत्यक्षतर्फ जिल्ला उपसभापति राजाराम यादव र महाधिवेशन प्रतिनिधि दिपतान्सु प्रताप सिंह (नवीन) पनि सिफारिस भएका छन् ।

युवा इन्जिनियर राय मधेशको राजनितिमा नयाँ अनुहार भएकै कारण समग्र प्रदेशमा उनीबारे चर्चा परिचर्चा चल्ने गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट जलवायु परिवर्तन र विकास नामक विषयमा स्नातकोत्तर अध्ययन गरेका राय, नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा आबद्ध रही लोकतान्त्रिक इन्जिनियरहरु माझ विभिन्न नेतृत्वदायी भूमिकामा कार्य गरिसकेका लोकप्रिय अनुहार हुन् । 

विगत १२ वर्ष देखि इन्जिनियरिङ विषयहरुमा अध्यापन गर्दै आएका प्रेमचन्द्र शिक्षा, प्रविधि, स्वास्थ्य, सामाजिक विकास र वातावरणमा विशेष रुची राख्दछन् ।

साधारण परिवारमा जन्मेका इन्जिनियर राय नेपाली समाजमा राजनीतिप्रतिको आम धारणामा सकारात्मक परिवर्तन ल्याउनका लागि आफू राजनीतिमा अग्रसर भएको बताउँछन् । 

आफू सानो हुँदा निः स्वार्थ भावसहित आफ्ना बुबाले समाजको विकासका लागि गरेका सामाजिक कार्यहरुले आफूलाई प्रेरणा दिएको र सकारात्मक समाज निर्माणबाट मात्रै देशमा विकास सम्भव छ भन्ने कुरामा विश्वास राख्दछन् । 

आफ्नो वर्षौंको विज्ञतालाई सोही क्षेत्रका अग्रजहरुको अनुभव र युवाहरुको जोशलाई साथमा लिएर आफ्नो क्षेत्रलाई नविन नेपालको नमूना क्षेत्र बनाउने लक्ष्य रहेको उनले बताए ।

नेपालका स्थापित राजनीतिक दलहरुप्रति संशय राख्ने युवा जमातमा इन्जिनियर प्रेमचन्द्र रायको उम्मेद्वार सिफारिसले नेपाली कांग्रेसप्रतिको विश्वास र धारणामा सकारात्मकता र सबलता प्रदान गरेको स्थानीय नेताहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ