arrow

सन्दीप दोषी हैन आरोपी हो आत्तिएर गर्नुपर्ने केही छैन – क्यान अध्यक्ष चन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
sandeep-lamichhane2.jpg
तस्बिर – सन्दीप लामिछाने, फाइल ।

काठमाडौैं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने बलात्कारका दोषी नभइ आरोपीमात्र भएकाले आत्तिएर अहिले गर्नुपर्ने केही पनि नभएको बताएका छन् । 

उनले भने, ‘ऊ दोषी हैन आरोपी हो । अहिले नै आत्तिएर उसलाई झिकाउनु पर्ने केही छैन । प्रहरीले अनुसन्धान गर्दै होला ।’

सन्दीप यतिबेला क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा रहेका छन् । उनीमाथि नाबालिगलाई जवरजस्ती करणी गरेको आरोप छ । सन्दीपले गत भदौ ५ गते करणी गरेको आरोप लगाइएको पीडितको उजुरी भदौ २१ गतेमात्र दर्ता भएको थियो । 

भदौ ६ गते सन्दीप टीमसँग केन्या गएका थिए । उनकै नेतृत्वमा नेपालले केन्यासँग पाँच टी–२० क्रिकेट श्रृंखला खेलेको थियो । जसमा नेपाल ३–२ ले विजयी भएको थियो भने सन्दीप १२ विकेट लिँदै प्लेयर अफ द सिरिज भएका थिए । 

क्यान अध्यक्ष चन्दले आफूले मिडियाबाट मात्रै सन्दीपको मुद्दा दर्ता भएको घटना थाहा पाएको बताए । आफू जिम्मेवार निकायमा भए पनि यसबारे पहिले जानकारी नदिइएको उनले बताए । 

सन्दीप क्यानको सम्पर्कमै रहेको बताउँदै उनले सन्दीप आरोपीमात्रै भएकाले अहिले नै क्यारेबियन लिग बीचमा छाडेर आउन आफूहरुले नभनेको बताए । 

तस्बिर – चतुरबहादुर चन्द, अध्यक्ष, नेपाल क्रिकेट संघ

प्रहरीले गर्ने अनुसन्धानमा आफूहरुको पूर्ण सहयोग रहने बताउँदै चन्दले आरोपीलाई औपचारिक जानकारी बिना नै इन्टरपोल लगाएर सन्दीपलाई झिकाउँछौं भन्ने अभिव्यक्ति प्रहरीबाट आउनु दुःखद भएको बताए । 

उनले सन्दीप सम्पर्क रहेको र वेष्ट इन्डिजमा खेलिरहेको अवस्थामा भागेको जसरी नै अभिव्यक्ति दिनु गलत भएको उनको ठम्याइ छ । उनले भने, ‘अनुसन्धानका क्रममा उनलाई बोलाउनु पर्ने भयो भने जुनसुकै बेला पनि बोलाउन सकिन्छ ।’

उनको चित्त दुखाइ भने प्रहरीले गोप्यता कायम नगरेको भन्नेमा छ । उनले भने, ‘खेलाडी हो । राष्ट्रको गहना हो । देशको प्रतिनिधित्व गरेर खेल्छ । देशको छवि नै बिग्रने गरी प्रस्तुत गरियो । छानबिन गरेर मात्र बाहिर ल्याएको भए हुने । दोषी रहेछ भने त कारबाहीको भागेदार हुनैपर्छ ।’

उनले घटनाको सत्यतथ्य पत्ता लगाउन पनि प्रहरीलाई आग्रह गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ