बझाङ। यार्सा गुम्बा नामक बुटीको मूल्य ओरालो लाग्न थालेपछि सदरमुकाम चैनपुरस्थित चौगाँउ टोलमा अधिकाशं घरहरु निर्माणधिन अवस्थामा नै जीर्ण हुन थालेका छन्। बर्षेनी यार्सा गुम्बाको मुल्य ओरालो लाग्नुका साथै मुल्य कम पाईन थाले पछि बझाङ जिल्लाको सदरमुकाम चैनपुरको चौगाँउ बस्तीका स्थानियबासीहरुले निर्माण गर्न थालेका घरहरु अधुरै मात्र हैन जीर्ण पनि हुन थालेका हुन्।
सुरुका बर्षमा यार्सा गुम्बाको मुल्य भने जति पाईएको र यार्सा गुम्बा समेत प्रसस्त मात्रामा पाइएका कारणले दौलीचौर र सुर्मा गाविसका स्थानीयहरुले सदरमुकाम चैनपुरमा जग्गा लिएर घर बनाई बसोबास गरेका थिए। यार्साको उत्पादन र मुल्य घटे संगै अर्को वर्ष यार्सा टिपेर पुरा गर्ने गरी सदरमुकाममा बनाउन सुरु गरिएका घरहरु समेत २-३ वर्ष देखी अधुरै छन्। यार्सा टोलका नामले परिचित चैनपुरको प्रशासन रोडतिरका अधिकांस घरहरुमा ठडिएका पिल्लरहरुले अहिलेसम्म घरको रुप लिन पाएका छैनन्। यार्साका कारण एकाएक आकासिएको सदरमुकामको जग्गाको मुल्यमा पनि पछिल्लो समय सस्तिन थालेको स्थानियहरु बताउछन्।
पछिल्ला बर्षमा यार्सा गुम्बाको भने जस्तो मुल्य पनि नपाईएको र यार्सा गुम्बाको उत्पादनमा समेत कमि आए पछि घरका तला थप्न नसकिएको पुस्कल बोहराले बताए। उनले भने आम्दानीको एक मात्र स्रोत यार्सागुम्बाको मूल्य घटे सगै कम पाईन थाले पछि चौगाँउ टोलका अधिकांश घरहरु निर्माणाधिन अवस्थामै छन्।
यस क्षेत्रका मानिसहरुको प्रमुख आय स्रोत समेत रहेको यार्सा संकलन कार्य दिन प्रतिदिन यसरी धरासायी बन्दा उनिहरु चिन्तामा परेका छन्। '५ बर्ष भै सक्यो यार्सा गुम्बा विक्रि गरी घर बनाउन थालेको अहिले सम्म घरको पिल्लर बाहेक निर्माण गर्न सकिएको छैन, दौलीचौरका पे्रम बहादुर बोहराले भने, 'घरको तला थप्ने भनिए पनि यार्साको मुल्य पनि पाईदैन लेकतिर यार्सागुम्बा पनि पहिले जस्तो पाइदैन। घरका कोही पनि रोजगार छैनन् अब कसरी घरको तला थप्ने?'
दौलीचौर र सुर्मा गाविसका झण्डै ६५ परिवारले यार्सा गुम्बा संकलन गरी सदरमुकाम चैनपुरका जग्गा सहित घर निर्माण गरी बसोबास गर्दै आएका छन्। ६५ परिवार मध्ये ५५ परिवारले घरका पिल्लर हाले पनि तला थप्न सकेका छैनन्।
जीवन बुटीको नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रसस्तै पाइने यस जिल्लामा यसको उत्पादनमा प्रत्येक वर्ष गिरावट आउन थालेपछि यस क्षेत्रका यूवा रोजगारीका लागि भारत लगायत बिदेशतिर समेत जान थालेका छन्। उत्पादन घट्न थालेपछी यार्सा टिपेरै आफ्नो जिवनशैली बदलेका यहाँका हिमाली गाँउका मानिसहरु फेरी पुरानै अवस्थामा फर्किन थालेका छन्।
जिल्ला वन कार्यालयको तथ्याङ्कलाई मात्र आधार मान्दा २०७० सालमा ३ सय ७२ केजी संकलन भएको यार्सा गत वर्ष ३ सय ३८ किलोमा झरेको थियो। यस वर्ष भने यो परिमाणमा व्यापक रुपले गिरावट आएको छ। करिव १० वर्ष पहिले देखी संकलन सुरु भएको परिमाणलाई हेर्ने हो भने यसवर्ष सबै भन्दा कम २ सय ३७ केजी मात्र उत्पादन भएको जिल्ला बन कार्यालयले जनाएको छ।
झण्डै १० वर्ष सम्म मजदुरीका लागी भारत जान पुर्ण रुपमा बन्द भएका काँडा, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला लगायतका गाविसका अधिकासं बासिन्दाहरु पहिले झै भारतको मजदुरीमा फर्किन थालेका छन्। यार्साको जथाभावी संकलन गर्नु, जंगल खन्नु, जंगलमा आगो लगाउनु जस्ता कारणले यार्साको उत्पादन घटेको हुन सक्ने जिल्ला बन कार्यलयका सहायक बन अधिकृत कर्ण बहादुर खातीले बताए। यार्सा उत्पादन हुने स्थानमा हजारौ मानीसहरुको आवतजावत, प्लाष्टिक र सिसाजन्य फोहोर, जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्ने गर्दा प्रदुषण बढदै गएकाले पनि यार्साको उत्पादन घटेको उनको तर्क छ। यसबाहेक हिमपात कम हुने र जलवायु परिवर्तनको असर पनि यार्सा उत्पादनमा परेको उनले बताए।