arrow

ज्वरोका बिरामी बढेपछि अस्पतालमा ठाउँ अभाव, बाहिरै राखेर उपचार 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
birami-darchula-dengue.jpg

दार्चुला । पछिल्लो समय दार्चुलामा ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल दार्चुलामा ज्वरोका बिरामीको भीड थेगिनसक्नु रहेको छ । केही दिनयता अस्पतालको इमर्जेन्सीका बेडसमेत बिरामीले भरिएका छन् । ज्वरोको समस्या लिएर उपचारमा आएकामध्ये अधिकाशंमा डेंगी पोजेटिभ देखिएको जिल्ला अस्पताल दार्चुलाका डा. सोमराज अवस्थीले बताए ।

‘दैनिक ५०–५५ जना बढी बिरामी इमर्जेन्सीमा आउनु हुन्छ, बिरामीको चाप यति छ कि बेड नपुगेर केहीलाई त बाहिर कम्पाउन्डमै राखेर उपचार गर्नुपर्ने अवस्था सृजना भएको छ । यसरी आएकामध्ये अधिकांसमा डेंगी पोजेटिभ देखिएको छ,’ उनले भने । एउटै बेडमा दुई–दुई जना बिरामी राखे पनि व्यवस्थापन गर्न समस्या भएको उनले बताए ।  

दार्चुलामा चालु आर्थिक वर्षको साउन महिना यता ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । जिल्ला कारागारका ७ जना कैदीबन्दीमासमेत डेंगी देखिएको छ । 

डेंगीकै कारण दार्चुलामा ५ वर्षीया बालिकाको मृत्यु भएको छ । डेंगी रोग जुनसुकै उमेर समूहका मानिसहरुलाई लाग्ने भएकाले सचेतना अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । 

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पुरै दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, पखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने आदि डेंगीका लक्षण हुन् । यसबाट बच्न घर वरपर पानी जम्न नदिइ सफा राख्ने, शरीर ढाक्ने लुगा लगाउने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, बिहान, दिउँसो र राति जुनसुकै बेला झुल लगाएर मात्रै सुत्ने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । 

लामखुट्टेका लार्भा खोज गरी नष्ट गरिँदै
दार्चुलामा डेंगीका बिरामी बढेपछि डेंगी गराउने लामखुट्टेका लार्भा खोज गरी नष्ट गरिन थालिएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा बसेको सरोकारवाला निकायहरुको बैठकले डेंगी रोग सम्बन्धी अन्तरक्रिया गर्दै नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानको विकल्प नरहेको निष्कर्ष निकाल्दै डेंगीगराउने लामखुट्टेका लार्भा खोज गरी नष्ट गरिन थालिएको हो । 

जिल्लामा सबैभन्दा बढी संक्रमण महाकाली नगरपालिकामा देखिएकाले पालिकाभित्र ‘लार्भा खोज र नष्ट गर’ अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । 

यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, शिक्षक, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खटाइएको छ । उनीहरुले घरघरमा पुगी लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्नुका साथै जनचेतना फैलाउने काम गर्नेछन् ।

अभियानअन्तर्गत लार्भा खोज गर्दा स्थानीयका घर तथा सरकारी कार्यालयमा राखिएका पानी ट्यांकी, गमला, फुलदानी, टायर आदिमा डेंगी लाग्ने पोथी एडिज जातका लामखुट्टेका लार्भा भेटिएका छन् । लार्भा भेटिएको ठाउँमा नष्टसमेत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ