arrow

अब नेपालमा क्रिकेट बोर्ड : क्यानको अस्तित्व मेटिदै (क्यान स्थापनाको इतिहाससहित)

संसदमा विधेयक लाने सरकारको तयारी

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
CAN-nepal-new-pic.jpg.jpeg
काठमाडौं । लामो समय विवादमा परेको निलम्बित नेपाल क्रिकेट संघ क्यान अब नरहने भएको छ । राणाकालिन इतिहास बोकेको क्यानको सट्टा अब क्रिकेट बोर्ड रहने भएको हो । 
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका प्रमुख कार्यकारी सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव केशव कुमार विष्टलाई संयुक्त रुपमा भेटेर समस्या समाधानको उपाय खोजी गरेको हो । भेटमा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले क्रिकेट संघको सट्टा क्रिकेट बोर्ड गठन गर्ने प्रस्ताव गरे । खेलकुद मन्त्रीको प्रस्तावमा आइसीसी टोलीले सहमति जनायो । 
 
प्रधानमन्त्रीले र खेलकुद मन्त्रीले स्वतन्त्र एवं शक्तिशाली बोर्ड बनाउने प्रस्ताव गरेछि आइसीसी कार्यकारीसहितको टोलीले समेत क्रिकेट संघमाथिको प्रतिबन्ध फुकुवा हुने र नेपाली क्रिकेटले पाउँदै आएका सेवा सुविधा नियमित गर्ने सहमति जनायो ।
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको त्रिपक्षीय छलफलमा अब नेपाल क्रिकेट बोर्ड गठन गर्ने सहमति जुटेकाे छ । बैठकपछि  राखेप सदस्य सचिव विष्टले भने, ‘अबको ३ महिना भित्रमाबोर्ड गठनका लागि संसदमा विधेयक लैजाने कुरा भएको छ ।   बोर्ड गठन र ऐन बनेपछि नेपाली क्रिकेट राजनीतिक हस्तक्षेप मुक्त हुने छ ।’ 
 
बोर्ड गठनको काम गर्न र बोर्ड बन्दा सम्म क्रिकेट गतिविधि सम्हाल्न एक ६ देखि ७ जनाको सल्लाहकार समूह बन्ने भएको छ । सो सल्लाहकार समितिले केही समय खेल गतिविधि गर्ने गरेर काम गर्न पाउनेमा आइसीसीले सहमति जनाएको विष्टले जानकारी दिए ।
 
सल्लाहकार समूहका व्यक्ति नाम मात्र टुंगो लाग्न बाँकी रहेको भन्दै विष्टले सकेसम्म आइतबार अपरान्ह आइसीसीको टोलीले गर्ने पत्रकार सम्मेलनमा समितिको नामावली आउने नभए अवधारणा सम्म आउने जानकारी हाम्रा कुरालाई दिएका छन् । प्रधानमन्त्री, मन्त्रालय, परिषद् र आइसीसी टोलीबीच भएको सहमति अनुसारको अवधारणा सार्वजनिक भए नेपाल क्रिकेट संघ क्यानको अस्तित्व समाप्त हुने छ । 
 
क्यान स्थापना 
एक  समय जुद्ध समशेर आफ्ना केटा केटीले क्रिकेट खेलेको देखेर निकै अत्तालिएका थिए । उनले तुरुन्दै निर्देशन दिए, ‘यस्तो डरलाग्दो खेल खेल्नु हुन्न । यो भन्दा त हकी निकै जाती ।’  यद्यपि, नेपालमा क्रिकेटको जग बसाउन मदनशमशेर खुब खटिए । पिता प्रधानमन्त्री भएकै फाइदा उठाउँदै उनले क्रिकेटको लोकप्रियताका लागि निकै मेहनत गरे । सुधार राणाका रुपमा चिनिएका पिता चन्द्रशमशेर प्रधानमन्त्री थिए । नेपालबाट सती प्रथा अन्त्य गरेको श्रेय पनि चन्द्र शमशेरलाई जान्छ । चन्द्रशमशेरका पालामै नेपालमा क्रिकेटको चहलपहल सुरु भइसकेको थियो ।
 
भरतशमशेरका छोरा ब्रह्मशमशेरको बबरमहल, मदनशमशेरको श्रीदरबार, अर्जुनशमशेरको सिंह महल र नरशमशेरको बहादुर भवनमा क्रिकेटको ठूलै चहलपहल हुन्थ्यो । तर, जुद्धशमशेरका पालामा आएर क्रिकेटले केही समय प्रतिबन्ध झेल्यो । त्यो प्रतिवन्ध घरभित्रै बाट थियो । तर, अहिले नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय प्रतिवन्ध झेलिरहेको छ ।  
 
विक्रम सम्बत २००१ सम्म आइपुग्दा कल्याणमणि दीक्षित, त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, सिंहप्रताप शाह र कुमारमणि दीक्षितजस्ता प्रतिभा देखा परिसकेका थिए । उनीहरुले आफ्नो छुट्टै टोली बनाएर त्यही वर्ष सानो गौचरनमा भारतीय दूतावाससँग मैत्रीपूर्ण खेल खेलेका थिए । ती खेलाडीको दरबारबाहिर त्यो खेल पहिलो थियो । तीनै खेलाडी सम्मिलित टोलीले पछि मदनशमशेरको टोलीसँग पनि दुई खेल खेलेको थियो । 
 
यसरी आफ्नो छुट्टै समूह बनाएर करिब दुई वर्ष क्रिकेट खेलेका खेलाडीले २००३ सालमा एउटा क्लब स्थापना गर्ने निर्णय गरे । क्लबको नाम क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) । क्यान स्थापना इङ्ल्याण्डको चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को अवधारणा अन्तर्गत भएको थियो । 
 
उ बेला राणाहरूको टोलीविरुद्ध कडा प्रतिस्पर्धा गर्ने उद्देश्यले स्थापना भएको १२ सदस्यीय क्यानको संस्थापक अध्यक्ष सिंहप्रताप शाह थिए । कुमारमणि दीक्षित महासचिव  र अन्य सदस्यमा त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, मुकुन्दशमशेर थापा, पीताम्बरशमशेर थापा, कल्याणमणि दीक्षित, बन्सीराम भण्डारी, द्वारिकानाथ रेग्मी,  रेशमराज, नरेन्द्र राणा र तारादेव भट्टराई रहे । क्यानको स्थापनाअघि कुमारमणिले आफ्ना बुबामार्फत तत्कालिन ‘चिफ साहेब’ मोहनशमशेरबाट स्वीकृति लिएका थिए ।
 
२००७ सालमा प्रजातन्त्र आएपछि क्यानकै झन्डामुनि २००८ सालमा नेपाली खेलाडी मुलुक बाहिर पहिलो क्रिकेट म्याच खेल्न भारतको पटना पुगे । पछि २०१५ सालमा नेपाली खेलकुदलाई व्यवस्थित गर्न राष्ट्रिय खेलकुद परिषद् स्थापना हुँदा क्यानलाई क्रिकेटको आधिकारिक संस्थाको मान्यता दिइयो । क्यानको लोगोमा हाल सम्म गैंडा छँदैछ । 

 



नयाँ