arrow

नरभक्षी चितुवा मार्ने प्रशासनको निर्णय

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
leopard-01.jpg.jpeg
बैतडी । शनिवार साँझ बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ । 
 
तल्लोस्वराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा आज बसेको सुरक्षा समितिको आकस्मिक बैठकले नरभक्षी चितुवालाई मार्न प्रहरी टोली खटाइने समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए । यसका साथै पीडित परिवारलाई राहत वितरण, सचेतनामूलक कार्यक्रमसमेत गरिने उनले बताए । 
 
 
चितुवा मार्न तत्काल हतियारसहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । चितुवा मार्न थप सुरक्षाकर्मी परिचालनका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलसँग पनि सहयोग मागिएको प्रहरी नायव उपरीक्षक राणाले बताए । 
 
तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । विसं २०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ