काठमाडौं । कलाकारितासँगै समाजसेवालाई सधैं आफ्नो कर्म ठान्ने निर्णय श्रेष्ठ ‘एनपीस अवार्ड–२०१६’ का लागि नेपालबाट मनोनयनमा परेका छन् । श्रेष्ठ सो अर्वाडका लागि मनोनित हुने पहिलो नेपाली कलाकार हुन् । एनपीस अवार्ड सन् २०११ बाट प्रदान गर्न थालिएको हो । एसियाली क्षेत्रमा शान्ति निर्माण र समुदायको सशक्तिकरणमा उच्च योगदान पुर्याउने व्यक्तिलाई सो अर्वाड प्रदान गर्ने गरिन्छ ।
मनोनयनको हिसावले एनपीस अवार्डले नेपाल, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इन्डोनेसिया र फिलिपिन्स गरी ६ वटा मुलुकलाई समेट्दै आएको छ ।
जम्मा तीन विधामा प्रदान गरिने सो अवार्डमा श्रेष्ठ भने ‘क्याम्पेनिङ फर एक्सन’ विधामा मनोनित भएका हुन् । त्यसो त श्रेष्ठ सो विधामा मनोनित हुने एक्लो नेपाली भने होइनन् । श्रेष्ठसँगै नेपालबाट मनोनित हुनेमा किसम गुरुङ, मदन मगराती, माया थापा, लाक्पा लामा, महमद सेर बगवान, सुरेश कुमार, कुमारी शाह र ज्ञान महर्जन छन् ।
सन् १९९९ बाट आफुलाई संगीत क्षेत्रमा आवद्ध गराएका श्रेष्ठको नेपालमा हिपहप भित्र्याउनमा उच्च योगदान रहेको छ। श्रेष्ठले वेस्ट संङ नेस्नल अर्वाड सेभिङ लगायत अन्य थुप्रै अवार्डबाट सम्मानित भइसकेका छन् । उनी इमेज एफएमका सिनियर प्रोड्युसर पनि हुन् ।
श्रेष्ठले ‘शिक्षा नै जीवनको जग हो’ भन्ने उद्धेस्यका साथ सन् २००६ बाट ‘निर्णय एनएसके टुर फर एजुकेशन’ नामको अभियान समेत चलाएका छन् । श्रेष्ठले सहरी क्षेत्रका स्कुलहरुमा शान्ति, वातावरण र एचआईभीसँग सरोकार राख्ने कार्यक्रमहरु पनि गर्दे आएका छन् ।
एनपीस अवार्डमा आफु मनोनित हुनु नै ठूलो सफलता भएको बताउँदै अब बाँकी सफलता जनताको हातमा रहेको श्रेष्ठले हाम्राकुरासँग बताए ।
मनोनितहरुलाई भोटिङ् गर्न सकिने व्यवस्था छ । त्यसका लागि अवार्डको आधिकारिक
लिङ्क पेजमा गएर भोट गरिन सकिने छ । अगष्ट १८ देखि भोटिङ् खुल्ला रहेको र भोटिङ् सेप्टेम्बर ३० सम्म खुल्ला रहने छ ।
अवार्ड विजेताको घोषणा भने अक्टोबर २४ मा गरिने छ । गत वर्ष अवार्ड वितरण समारोह अमेरिकाको न्यूयोर्कमा भएकामा यसपटक थाइल्याण्डको बैंककमा हुने भएको छ ।