arrow

असोज ३ लाई कालो दिन मान्ने मोर्चा र गठबन्धनको निर्णय एउटै, बैठक छुट्टा–छुट्टै

मोर्चाको सचिवालय बैठक तमलोपाको कार्यालयमा, गठबन्धन बैठक समाजवादीको कार्यालयमा

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
morcha-.jpg.jpeg
काठमाडौं । मधेसी र जनजातीको समस्या सम्बोधनको माग राख्दै आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मोर्चा सहितको संघीय गठबन्धनले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने कार्यक्रम सार्वजनिक गरेका छन्  ।
 
यद्यपि, एउटै कार्यक्रम तय गर्न मोर्चाका केही दल र गठबन्धनका केही दलले छुट्टा–छुट्टै बैठक डाके । गठबन्धनमा आवद्ध दलहरुले संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बैठक डाक्दा मोर्चाका केही घटकहरुले तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा सचिवालय बैठक डाके । 
 
संघीय समाजवादीको कार्यालयमा बैठक भएकोबारे आफुलाई कुनै जानकारी नभएको बताउँदै सद्भावना महामन्त्री मनीष सुमनले भने, ‘तमलोपाको कार्यालयमा भएको सचिवालय बैठकमा म थिएँ । अरु कस्को बैठक बस्यो भन्नेबारे मलाई जानकारी भएन ।’ उनले सचिवालय बैठकले दुई कार्यक्रम सार्वजनिक गरेको बताए ।
 
उनले थपे, ‘हामीले दुई वटा कार्यक्रम सार्वजनिक गरेका छौं । पहिलो आन्दोलनका क्रममा सबै शहीदत सहादत प्राप्त गरेको स्थलमै गएर श्रद्धान्जली सभा गर्ने । दोस्रोमा संविधान जारी भएको अघिल्लो दिन देखि पछिल्लो दिन गरी तीन दिन विरोध गर्ने ।’ उनका अनुसार मोर्चाले असोज २ गते अर्न्तरक्रिया गर्ने, ३ गते दिउँसो प्रदर्शन गर्ने तथा साँझ ७ः३० देखि ८ बजे सम्म ब्ल्याकआउटको समय रहने र ४ गते चोक चोकमा श्रद्धान्जली सभा गर्ने कार्यक्रम छ । 
 
यस्तै, संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा आइतबारै बसेको गठबन्धन आवद्ध दलहरुको बैठकले सरकारले असोज २, ३ र ४ गते संविधान दिवस मनाउने घोषणा गरेकामा त्यसैको विरोधमा कोलो दिवस मनाउने निर्णय गरेको छ । सरकारले तीन दिन हर्षोल्लासका साथ संविधान दिवस मनाउने घोषणा गरेपछि मोर्चाले समेत ती तीनै दिनलाई कालो दिवसको रुपमा मनाउन लागेको हो । 
 
बैठकले असोज २ गते कार्यक्रमको प्रचारप्रसार गर्ने, माइकिङ गर्ने, पम्प्लेट बाँड्ने, ३ गते सबै जिल्ला सदरमुकामहरुमा संविधानको विरुद्धमा प्रदर्शन गर्ने र साँझ ७ देखि ८ बजेसम्म ब्ल्याकआउट गर्ने र ४ गते मधेस आन्दोलनको क्रममा शहीद भएकाहरुको सम्झनामा श्रद्धान्जली सभा गर्ने निर्णय गरेको छ ।
 
संविधान संशोधनका लागि आन्तरिक कार्यदल 
फोरमको कार्यालयमा बसेको बैठकले सरकारसंग राख्ने विषय र संविधान संशोधनको आन्तरिक तयारीका लागि ११ सदस्यीय कार्यदल बनाएको छ । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण संयोजक रहने समितिमा तमलोपाका उपाध्यक्ष वृशेष चन्द्रलाल, संघीय समाजवादी फोरमका उपाध्यक्ष लालवावु राउत, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा, थरुहट पार्टीका गोपाल दहित, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतका सदस्य छन् ।
 
समितिमा मधेसी मोर्चा र संघीय गठबन्धन दुवै तिरका प्रतिनिधि बस्ने बताइए पनि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफुलाई बैठक र बैठकको निर्णयबारे कुनै जानकारी नभएको बताए । तपाईलाई कार्यदलको संयोजक बनाए छन् हैन ? जवाफमा उनले भने, ‘यसबारे मलाई केही थाहा छैन । म कुनै बैठक सैठकमा गएको छैन ।’ समिति सदस्य बनाइएका गोपाल दहित समेत कैलाली पुगेका छन् । उनले भने, ‘ए होर मलाई नी राखे छन् ।’ म त कैलाली छु । 
 
फोरमको कार्यालयमा भएको सो बैठकमा तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीका प्रतिनिधि उपस्थित थिएनन् ।
 
एउटै कार्यक्रमका लागि किन दुई तिर बैठक ? 
संघीय समाजवादीको कार्यालयमा भएको गठबन्धन बैठकमा सहभागि भएका थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले मोर्चाको सचिवालय बैठक बसेको आफुले थाहा नपाएको बताए ।
 
एउटै कार्यक्रममा लागि दुई तिर बैठक किन ? जवाफमा थारुले भने, ‘यो कुनै फुट र मनमुटावको विषय होइन । कुनै दल वा समूहले विरोध कार्यक्रम घोषणा गर्छ भने गठबन्धनलाई झन् फाइदा हुन्छ । हामीले गठबन्धनलाई महत्व दिन्छौं । त्यसले गठबन्धनलाई फाइदा हुने भएकाले यसमा चित्त दुखाई छैन ।’ मोर्चा समेत गठबन्धनमा भएकाले को आयो आएन भन्ने कुरा प्रमुख होइन । 
तर, थारुले पहिचानको हिसावले भने गठबन्धन र मोर्चाको अस्तित्व फरक–फरक रहेको बताए । उनले भने, ‘गठबन्धनले आदवावासी जनजाती आन्दोलनलाई पनि प्राथमिकता दिएको छ । मोर्चाको पहिचान छुट्टै छ ।’ समग्रमा हामी सबै मिलेर पहिचान र अधिकारको एउटै लडाई लडिरहेको हो । उनले कार्यदल गठन भएको संविधान संशोधनमा के–के विषय छुटेका छन् र के–के विषयलाई बढी जोड दिनु पर्दछ भन्ने आन्तरिक गृहकार्यका लागि गठन भएको बताए ।
 
उनले भनेका छन्, ‘ सरकारले दुवै तर्फको मिलाएर बनाउन सक्ने भयो । तर, हामीले आफ्नो तर्फबाट विषय वस्तु लैजाने कार्यदल त बनाउनु पर्ने नै हुन्छ नी । गृहकार्य नगरी कसरी संयुक्त कार्यदलले गति पाउन सक्छ ? ।’ मधेस केन्द्रीत दलहरुको आन्तरिक खटपट फेरि सुरु भएको छ  ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ