काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठनहरूको महाधिवेशनको लागि पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौंला आफैं तयारीमा जुटिरहेका छन्। उनले आसन्न नेपाल तरूण दल र महिला संघको महाधिवेशनमा आफू पक्षीय नेताहरू जिताउन आफैं जिल्लाका नेताहरूसँग छलफलमा जुटेका हुन् ।
यसै सिलसिलामा नेपाल महिला संघको आसन्न महाधिवेशनमा उम्मेदवारी दिने विषयमा आईतबार राजधानीमा सिटौला पक्षीय नेताहरूको बैठक सम्पन्न भएको छ। काठमाडौंको वागबजारस्थित हार्दिक होटलमा भएको भेलाको नेतृत्व सिटौला आफूैले गरेका थिए। सो बैठकमा आसन्न महिला संघको बैठकमा आफ्नो पक्षबाट प्यानल सहित उम्मेदवारी दिने विषयमा छलफल भएको र अधिकांश जिल्ला नेताहरूले पनि आफ्नो पहिचान सुरक्षित गर्दै आफ्नै ढङ्गले निर्वाचनमा जान सुझाव दिएको बैठकमा सहभागी बलदेव तिमल्सिनाले जानकारी दिए।
उता, महिला संघसँगै तरूण दलको नेतृत्वको लागि पनि सिटौला आफैं भेटघाटमा जुटेका छन्। उनले यस विषयमा थप छलफलको लागि भन्दै सोमबार जिल्ला नेताहरूसँग व्यापक छलफलको तयारी गरिरहेका छन्। यसरी सिटौलाले आफ्नो छुट्टै धारको पहिचानको लागि आफैं सक्रिय बनेर अघि बढेका हुन् ।
उता, सिटौलाको सक्रियतालाई अन्य नेताहरूले पनि गम्भीर रूपमा लिएर सोही अनुसार रणनीति बनाएर अगाडि बढेको बुझिएको छ। यसैगरी सिटौलाको सक्रियता अन्तिमसम्म चल्दै जाने हो भने निर्वाचनको समयमा आफूहरु अप्ठ्यारोमा पर्नसक्ने भन्दै सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबै पक्ष सचेत बनेर आ–आफ्नै ढङ्गले प्रचारप्रसार र रणनीति बनाउन लागेको बताईएको छ ।