arrow

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
Myagdi_District.png

म्याग्दी । म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन् । 

छवटा विद्यालयमा चारकोठे भवन, सात वटामा दुईकोठे र १२ वटामा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएका हुन् । चारकोठे भवनका लागि रु ५० लाख, दुईकोठेलाई रु  २५ लाख र सूचना प्रविधि प्रयोगशालाका लागि रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ । 

रघुगङ्गा गाउँपालिका-२ को मुक्तिधाम मावि, मालिका-२ रुमको राष्ट्रिय मावि, अन्नपूर्ण-१ दोवाको कैलाश मावि, धवलागिरि-७ धारापानीको किसानी चन्द्रकुन्ता मावि, मङ्गला-१ कुहुँको दिपशिखा मावि, बेनी नगरपालिका-७ को प्रकाश माविले चारकोठे भवन योजना पाएका छन् । 

दुईकोठे भवनमा छनोट हुने विद्यालयमा बेनी नगरपालिका-७ को बेनी सामुदायिक मावि, बेनपा-४ को धवलागिरि मावि, मङ्गला-४ बरंजाको महेन्द्ररत्न आधारभूत, धवलागिरि-७ को ताकम मावि, अन्नपूर्ण-५ को पाउद्धार मावि, मालिका-६ को मालिका आधारभूत र रघुगङ्गा-३ को रघुगङ्गा मावि छन् । 

रघुगङ्गा-३ को ज्ञानोदय मावि, रघुगङ्गा-१ को महादेव मावि, मालिका-३ को अमरज्योति मावि, मालिका-७ बिमको किसानी मावि, अन्नपूर्ण-७ रिमाको आदर्श मावि, अन्नपूर्ण-६ घारको मुक्तिमार्ग मावि, धवलागिरि-४ खिवाङको चन्द्रज्योति मावि, धवलागिरि-७ को हेम मावि, मङ्गला-२ को सिद्धशान्ति मावि र मङ्गला-१ को राष्ट्रिय जनजागृति माविले सूचना प्रविधि प्रयोगशालाको कार्यक्रममा छनोट भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वित्तीय हस्तान्तरण गरेपछि स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुने कार्यविधि छ । सामुदायिक विद्यालयको पूर्वाधार र सूचना प्रविधिको पहुँच विस्तारमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । मन्त्रालयले गत साउन महिनामा कार्यक्रममा समावेश हुन चाहने विद्यालयबाट प्रस्ताव सङ्कलन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ