काठमाडौँ। सरकारले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि प्रदान गर्ने अनुदानमा एक लाख वृद्धि गरिने भएको छ ।
सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि दुई लाख अनुदान दिने निर्णय गरेको थियो । सरकारले सो रकममा वृद्धि गरी तीन लाख पुर्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्, विकास समितिको सोमबार बसेको बैठकमा सो जानकारी दिँदै भने – “यही हप्ताभित्र भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि एक लाख थप गर्ने निर्णय गर्न लागेको म जानकारी गराउन चाहन्छु ।”
संसद्मा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा बनेको दाहाल नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ४५ दिनभित्र आवास निर्माणका लागि पहिलो किस्ताबापतको ५० हजार सबै भूकम्पपीडित जनतालाई वितरण गर्ने निर्णयसमेत गरेको थियो ।
बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् निर्णयको कार्यान्वयनलाई आफूले दैनिक रुपमा मुख्य सचिवमार्फत अनुगमन गरिरहेको बताउँदै छिटो अनुदानबापतको रकम वितरण गर्न पुनःनिर्माण प्राधिकरणलाई निर्देशन दिए ।
सांसद, मुख्य सचिव डा सोमलाल सुवेदी, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष, प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सरकारका विशिष्ट कर्मचारी सहभागी सो बैठकमा प्रधानमन्त्रीले भने – “पैंतालिस दिनभित्र पहिलो किस्ताबापतको रकम भूकम्पपीडितलाई वितरण गर्न मैले पटक पटक प्राधिकरणलाई निर्देशन दिएको छु । यसमा आलटाल हुन्छ भने म हेलिकप्टरमा पैसा राखेर वितरण गर्ने कार्यमा लाग्नेछु । यस्तो दिन आउन नदिनुहोस् ।”
प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणमा सरकारले आफ्नो सबै साधन र स्रोत केन्द्रित गरेको चर्चा गर्दै पुनःनिर्माणको काममा राजनीति गर्न नहुने बताए ।