काठमाडौं। नेपाली काँग्रेसको आन्तरिक राजनीतिक समिकरण फेरिएसँगै यसका स्वरुपमा पनि परिवर्तन आएको छ। महाधिवेशन अघी तत्कालिन सभापति शुसिल कोइरालाले नेतृत्व गर्नुभएको पक्ष पार्टीभित्र संस्थापन पक्ष भनेर मानिन्थ्यो। तर महाधिवेशनमा शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पार्टीको आन्तरिक जीवनमा यसले पुरानो संरचनालाई भत्काइदिएको छ। यसले पार्टीभित्रको संस्थापन पक्षलाई विपक्षमा र विपक्षमा रहेकाहरु संस्थापन बनाइदियो।
महाधिवेशनमा प्राप्त मतादेशले पदिय रुपमा देउवा पक्षलाई संस्थापन पक्ष बनाइदिएको छ भने पौडेल नेतृत्वको खेमा पुरानो संस्थापन भएको छ। तत्कालिन संस्थापन पक्षमा रहेका काँग्रेस नेता कृष्ण प्रसाद सिटौला भने महाधिवेशन पछि बदलिएको समिकरणले सभापति देउवा संस्थापन पक्ष बनेको देखिएपनि पार्टीको असली संस्थापन पक्ष आफूहरु भएको बताएका छन्।
पार्टी भित्र शसक्त तेस्रो धार निर्माण गरिरहेका सिटौलाले आफू निकट तरुण कार्यकर्ताहरुलाई काठमाडौंमा सम्वोधन गर्दै भने, ' पदिय हिसावले सभापति देउवाजीहरु संस्थापन पक्ष भएपनि वैचारिक हिसावले पार्टीभित्रको असली संस्थापन पक्ष हामी हो।'
पिता कृष्ण प्रसाद कोइरालाको लिगेसी आफूहरुसँग रहेको तर्क गर्दै सिटौलाले थपे, 'हामी जनताको पक्षमा उभिएका छौ। कार्यकर्ताको पक्षमा उभिएका छौ।' वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मको लिगेसी आफूहरुसँग रहेका कारण पनि वैचारिक रुपमा पार्टीको संस्थापन पक्ष आफूहरु भएको सिटौलाको तर्क छ। तर यहि लिगेसीलाई मात्र देखाएर ढुक्क भएर बस्न नहुने जनाउँदै उनले देश र पार्टीका लागि कार्यकर्ताहरु फेरि एकपटक जुर्मुराउने बेला भएको बताए। उनले थपे, ' हामी अझ फराकिलो भएर जानुपर्छ।'
पार्टीभित्र अन्य समुहमा रहेकाहरु छिन्नभिन्न मानसिकताबाट गुज्रिरहेको सिटौलाले बताए। पद तथा सत्ता प्राप्ति गरेकाहरु पनि छिन्नभिन्न मानसिकताबाट गुज्रिरहेको अवस्थामा आफ्नो समुहमा त्यस्तो कुनै छायाँ समेत नपरेको सिटौलाले बताए। अन्य समुह विचारमा पनि छिन्नभिन्न रहेको उल्लेख गर्दै आफ्नो समुह परिवर्तनको विचारका पक्षमा उभिएको बताए। उनले सबैलाई परिवर्तनको पक्षमा एक ठाउँमा उभिन सबै कार्यकर्ताहरुलाई आग्रह समेत गरे।