विराटनगर । मोरङ जिल्लाका कृषकहरुले अब मोवाइलको एसएमएस बाट कृषि सम्बन्धि गुनासाका जवाफ पाउन थालेका छन् । एसएमएस मार्फत सेवा पाउन थालेपछि टाढा टाढाका कृषकहरुले अब कृषि कार्यालय धाउनुपर्ने अवस्था टरेको छ ।
जिल्ला कृषि विकास कार्यालय कृषकले कृषि सम्बन्धि भोेग्नु परेको गुनासाहरुको समाधानका लागि यसै हप्तादेखि यो सेवा संचालनमा ल्याएको कार्यालय प्रमुख राजेन्द्र उप्रेतीले बताए । कृषि घर मार्फत कार्यालयले यो सेवा प्रदान गरिरहेको छ । कार्यालयसंग मोवाइल नम्बर मार्फत जोडिएको सबै किसानले सेवा पाइरहेका छन् ।
किसानले लगाएको बाली पहेलो हुन थाल्यो वा रोग किराको प्रकोप बढयो वा सिंचाई सम्बन्धि किसानका गुनासोको समाधान कसरी हुन्छ भने जानकारी एसएसएस मार्फत किसानलाई जानकारी गराइने भएको छ ।
कार्यालयले अहिले धानमा लागेको पहेलो रोगको निराकरण तथा साना सिंचाइको सूचना एसएमएस गरेर किसानलाई पठाएको जनाएको छ । कार्यालयसंग साढे तीन सय किसानले यो सुविधा पाइरहेका छन् । कार्यालयसंग भएको किसानको नम्बरमा मात्र एसएमएस पठाउने सकिने भएकाले अन्य किसानहरुले कार्यालयमा आएर आफनो नम्बर दिइएमा त्यस्ता किसानलाई पनि यो सुविधा प्रदान गर्ने कार्यालयले जनाएको छ ।
यसअघि कार्यालयले किसानको गुुनासो सुन्न टोल फ्रि नम्बरको व्यवस्था गरेता पनि त्यति प्रभावकारी नभएपछि एसएमएस सेवा संचालनमा ल्याएको उहाँको भनाई छ । धान, मकै गहुँ तथा दलहन, तेलहन बालीमा आएको समस्याको बारेमा कार्यालयमा जानकारी आएपछि गुनासाहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा किसानलाइ एसएमएस प्रविधिबाट जानकारी गराउन थालिएको बाली प्रसार अधिकृत सत्यदेव मण्डलले बताए ।
किसानको मोवाइल नम्बर प्राप्त भएमा मोरङ जिल्लाका जुनसुकै किसानले यो सेवा पाउने व्यवस्था मिलाइएको अधिकृत मण्डलले जानकारी दिए । यसैगरी, सेवालाई प्रभावकारी बनाउन कार्यालयले ५० वटा मोवाइल सेट वितरण गर्न लागेको जनाएको छ ।
आफनो मोवाइलमा कृषकले सहज रुपले गुनासाको जवाफ पाउने भन्ने उदेश्यले कृषकको समुहलाई मोवाइल प्रदान गर्न लागिएको कार्यालय प्रमुख उप्रेतीले बताउनु भयो । समूहमा लिङ्क भएपछि कृषकलाई सहजै सबै विषयको सूचना समेत पुग्ने भएको छ ।