काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेका छन्। महाधिवेशन पछि मनोनयन गर्न बाँकी सदस्य तथा पदाधिकारीहरू मनोनयन गरेर केन्द्रीय समितिलाई पूर्णता दिने तयारीमा देउवा रहेको उनी निकट स्रोतले जानकारी दिएको छ। यहि मेसोमा देउवाले पार्टीका ४१ विभाग प्रमुखको चयन पनि गर्ने गरि गृहकार्य गरिरहेका छन्। यसका लागि उनले निकटहरुलाई गृहकार्य गर्न लगाएका छन्।
विधान अनुसार सभापति देउवाले निर्वाचित सदस्यमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित महाधिवेशन प्रतिनिधि मध्येबाट बढीमा २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। जसमध्ये सभापति देउवाले अहिलेसम्म ११ सदस्यहरूको मनोनयन गरिसकेका छन् भने बाँकी रहेका दलित, मुस्लिम र जनजाति एक एक जनासहित १० सदस्यको मनोनित गर्न बाँकी छ। बाँकी रहेको पदको मनोनयन अबको केही दिनमा नै गर्ने तयारी भईरहेको देउवा निकट स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार मनोनयनको लागि बाँकी रहेको उपसभापति पदको लागि अहिले देउवाका निकट सहयोगीद्वय विमलेन्द्र निधी र गोपालमान श्रेष्ठको नाम चर्चामा रहेको छ। यी मध्ये उपप्रधानमन्त्री समेत रहेका निधीले बाजी मार्ने अनुमान कार्यकर्ताहरु माझ छ। नेपाली काँग्रेस प्रजातान्त्रिकका उपसभापति भइसकेका श्रेष्ठ पन उपसभापतिमा चर्चामा रहेपनि निधीको पक्षमा पल्ला भारी रहेको छ। उपसभापतिमा अर्का नेता खुम बहादुर खड्का पनि चर्चामा छन्। उनले महाधवेशनको बेलामा भएको भद्र सहमति अनुसार आफूलाई उपसभापतिमा मनोनित गर्न देउवालाई दवाव पनि दिइरहेका छन्। तीन नेताको आआफ्नै दाउ रहँदा देउवाले उपसभापति मनोनयन भने तत्काल नगर्ने स्रोतको दावी छ।
देउवाले निधीलाई उपसभापति बनाउन चाहेपनि सरकारमा पार्टीको तर्फबाट नेतृत्व सहित उपप्रधानमन्त्री बनाएपछि उनलाई तत्काल दोहोरो पद दिन नहुने दवाव देउवा समुहमा रहेको छ। त्यसैले पनि देउवाले उपसभापति बाहेक अन्यमा पदपूर्ती गरेर सबैको मुख मात्र थुन्न चाहेका छैनन् तत्काल उपसभापतिको विषयलाई वहसमा ल्याउन चाहेका छैनन्। सम्भवत प्रचण्डसँग भएको सहमति अनुसार आफू प्रधानमन्त्री भएपछि निधीलाई उपसभापति बनाएर देउवाले पार्टीको जिम्मेवारी पठाउन चाहन्छन्।
त्यस्तै महामन्त्री पदका लागि भने ३ जनाको चर्चा रहेको छ। जसमा ज्ञानेन्द्र कार्कीको सम्भावना बढी रहेको स्रोतको दाबी छ। महामन्त्रीको दौडमा रहेका पूर्ण बहादुर खड्का पनि रहेका छन्। प्रचण्ड नेतृत्वमा मन्त्री भएका प्रकाशशरण महत र बाँलकृष्ण खाँडको नाम पनि चर्चामा भएपनि उनीहरु यो पटक महामन्त्रीको दौडबाट टाढा पुगेको बताइन्छ। पदाधिकारीमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पनि दावी छ। पौडेल पक्षले सहमहामन्त्रीमा दावी गरेको छ। तर पदाधिकारीमा आफ्नो पक्षको वहुमत पुर्याउन देउवाले आफ्नै पक्षकालाई पदाधिकारीमा ल्याउन चाहन्छन्। महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादव पौडेल पक्षबाट पदाधिकारी रहेका छन्। पदाधिकारी स्वत संसदीय वोर्डको सदस्य हुने कारणले पनि संसदीय वोर्डमा सहज अवस्थामा रहन देउवाले वाँकी पदाधिकारीमा आफ्नै पक्षकालाई ल्याउन चाहिरहेका छन्।
यद्यपी उनले खुमबहादुर खड्का निकट पुष्पा भुसाललाई सहमहामन्त्री बनाएर खड्कालाई उपसभापति बनाउन नसकेको क्षतिपूर्ती गर्न सक्छन। दलित नेता मान बहादुर विश्वकर्मालाई सहमहामन्त्री बनाए खड्काले आफू सहित भुषाललाई संसदीय समिति सदस्य बनाउन दवाव दिएका छन्। आफ्नै समुहका साथै पार्टीका अन्य समुहबाट पनि दवाव खेपेका देउवाले अब भने धेरै ढीला नगर्ने सोचमा रहेको बताइएको छ।