arrow

प्रहरी खोरमा रहेका पूर्वमन्त्री गुप्ताले धम्काएकी ताराको पनि खुल्यो कर्तुत

अपराध गर्ने कोही उम्किन पाउँदैनन् : एसएसपी अधिकारी

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
gupta-news.jpeg
काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दामा फेरि पक्राउ परेका पूर्वमन्त्री श्याम सुन्दर गुप्ताबारे ललितपुर प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा गुप्ता मात्र नभई उनीसंग जोडिन आउनेहरुको समेत कर्तुत खुल्न थालेको छ ।  
 
गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालाकी पत्नी गीता ढकाल ‘हत्याकाण्ड’मा संलग्न रहेको खुल्न आएको छ । गुप्ताले पैंसाका लागि धक्याएकी तारा रेग्मी ढकाल हत्याकाण्डकी आरोपी हुन् । 
 
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले हाम्राकुरासंग भने, ‘रकम मागेर धम्की दिने र धम्कि खाने  दुवै अभियोगि हुन् । जो भए पनि अपराध गर्ने कोही उम्किन पाउँदैनन् ।’ हामीले गुप्तालाई ललितपुर अदालतबाट म्याद थप गरी अनुसन्धान थालिसकेका छौं । रेग्मीलाई समेत बाँकी कैद भुक्तानका लागि अदातलमा उपस्थित गराई सकिएको छ । 
 
श्रीमती हत्या अभियोगमा कारावास काटिरहेका बर्खास्त डिआइजी रन्जन कोइरालासँग साँठगाँठ रहेकी रेग्मी घटनापछि फरार थिइन् । उनले ११ महिना कैद सजाय काट्न बाँकी छ । प्रहरीले रेग्मीलाई सजाय भुक्तानका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइसकेको छ । 
 
यस्तै, डिल्लीबजार कारागारमा सँगै कैद भुक्तान गरेका गुप्ता र कोइरालाबीच निकट सम्बन्ध रहेको बताइन्छ । कोइरालामार्फत् फरार रहेकी रेग्मीको सम्पर्कमा पुगेका गुप्ताले विभिन्न बहानामा पटक–पटक धम्याउँदै आएका थिए । 
 
श्रीमता गीता २०६८ पुस २७ मा घरबाट हराएको भन्दै कोइरालाले खोजी गर्न प्रहरीमा निवेदन दिए । प्रहरीको शंकाको घेरामा परेपछि अनुसन्धान गर्दै जाँदा उनलाई माघ ८ मा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो । 
 
नियोजित रुपमा विभत्स हत्या गरी गीताको शव गाडेको अनुसन्धानमा खुलेको थियो । यस्तै, पत्नी गीताको काठमाडौं पासीकोटस्थित निवासमा हत्या गरी उनले मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए । मेत्राङमा गीताको शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गरेको अवस्थामा उनी प्रहरीको फन्दामा परे । 
 
तत्कालिन सरकारले २०७१ पुस ११ गते कोइरालालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले उनलाई भविष्यमा सरकारी सेवामा कुनै पनि काम गर्न योग्य नहुने गरी बर्खास्त गरिदिएको थियो । 
 
यस्तो थियो गुप्ताको करामत ?
आपूर्ती मन्त्री हुँदा पेट्रोलपम्प सञ्चालनका लागि पवन संघाईलाई दिएको अनुमतिको विषयमा लेनदेन बिग्रिएपछि गुप्ताले सहयोगी खटाएर उनको अपहरण गराए । 
 
उनी व्यापारी पवन संघाईको अपहरण गरी ८५ लाख रुपैयाँ फिरौती असुलेको अभियोगमा २०६८ माघमा पक्राउ परे । राजधानीको कमलादी गणेशस्थानमा दर्शनका लागि गएका संघाईलाई पुस ७ मा अपहरण गरी काभ्रे लगेर उनले सांघाई परिवारसँग रकम असुल गरी २० दिनपछि मुक्त अपहरण मुक्त गरे । 
 
अपहरण अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले गुप्तालाई ३ वर्ष कैद सजाय सुनाएको थियो । गुप्ता जेल सजाय भुक्तान गरेर गत साउन २ मा मात्रै रिहा भएका थिए । जेल सजाय काटेको एक वर्षपछि गुप्ता फेरि अपहरण तथा शरीर बन्धक अभियोगमा पक्राउ परेका छन् । 
यस्तै, पवन संघाई समेत अहिले फरार रहेका छन् । केही दिन अघि मात्रै उनका दाई रतन संघाई  औषधि बनाउन नेपाल ल्याएको सहायक रसायन लागूऔषधका कारोबारीलाई बिक्री गरेको भन्दै पक्राउ परेपछि उनी फरार भए । 
 
रतन संघाई पक्राउ पर्नुअघि व्यूरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको सांघाई प्लाष्टिक इण्डष्ट्रिजबाट औषधि बनाउने ४ सय ७१ किलो रसायन लागुऔषध तस्करहरुलाई बिक्री गर्न लागिएको अवस्थामा बरामद गरेको थियो । जसमा २९ लाख ७४ हजार ट्याब्लेट थिए । 
 
यस्तै, कारागारमै रहेको बेला उपचारका लागि हिमाल अस्पतालमा भर्ना भएका गुप्ताले अस्पतालबाट भाग्न चिकित्सक छोरासँग मिलेर सुरक्षामा बसेका प्रहरीलाई खानामा नशालु पदार्थ मिसाएर बेहोस पारे । अस्पतालको अर्को कोठामा कैदी कुर्न बसेका प्रहरीका कारण उनी भाग्न भने पाएनन् । 
 
अहिले भने गुप्ताको गतिविधिबारे एक साताअघि सूचना आएपछि प्रहरीले निगरानी थालेको थियो । निगरानीमा रहेका गुप्ता काठमाडौंबाहिर जाने तयारीमा रहेको सुइँको पाउनासाथ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ