काठमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत कोन्मेबोल क्षेत्रको खेलमा ब्राजिललाई राहत मिल्दा अर्जेन्टिनालाई झड्का लागेको छ । जित्नैपर्ने दबाबपूर्ण खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हरायो ।
ब्राजिललाई जिताउन दोस्रो मिनेटमै मिरान्डाले गोल गरे भने ३६ औं मिनेटमा माक्र्विनोसले आत्मघाती गोल गर्दै ब्राजिलको खेल पानी फेराइदिए । तर ७४ औं मिनेट ब्राजिल स्टार नेइमारले गोल गर्दै ब्राजिललाई जिताए ।
तर अर्जेन्टिनाले भने भेनेजुएलासंग २–२ गोलको बराबरीमै चित्त बुझाएको छ । लिओनल मेसी घाइते भइ मैदानमा उपस्थित हुन नसकेको खेलमा २–० ले पछि परेको अर्जेन्टिनाले त्यसपछि लगातार दुई गोल गर्दै बराबरीसम्मको नतिजा ल्याउन सकेको हो ।
भेनेजुएलाका हुँवापी र मार्टिनेजले गोल गरेका थिए । ५८ औं मिनेटमा लुकास प्राटोले अर्जेन्टिनाका लागि पहिलो गोल गर्दा ८३ औं मिनेटमा निकोलस ओटामेन्डीले बराबरी गरेका थिए ।
यो समूह अन्तर्गतका अन्य खेलमा उरुग्वेले पाराग्वेलाई ४–० ले हरायो । जसमा लुइस सुवारेजको एक गोल सामेल थियो ।
त्यस्तै चिली र बोलिभियाले गोलरहित तथा पेरु र इक्वेडरले १–१ को बराबरी खेले ।
यी खेलपछि १६ अंकको उरुग्वे शीर्ष स्थानमा पुग्दा १५अंकका ब्राजिल र अर्जेन्टिना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । १३ अंकका साथ कोलम्बिया चौथो स्थानमा छ ।