पाँचथर। बजेट अभावको कारण देखाउँदै पूर्वी पहाडि जिल्ला पाँचथरमा संचालित यूवा लक्षित व्यवसायीक तरकारी खेति कार्यक्रम कटौती गरिएपछि कृषकहरु निराश बनेका छन्।
बजेट बक्तब्यमै बिशेष तरकारी उत्पादन क्षेत्र घोषित गरिएको जिल्लामा यूवा किसानका लागि ३ बर्ष देखि संचालित कार्यक्रम र प्राप्त हुँदै आएको अनुदान यो बर्षबाट हटाइएपछि कृषिमा सरकारी सहयोग र प्रोत्साहन खोजी रहेका किसान निरास बनेका हुन्।
बैदेशिक रोजगारीबाट फर्केका र जान लागेका १८ देखि ५० बर्ष उमेर समूहका किसानलाई कृषिमा आकर्षित गरि यतै रोक्न व्यवसायीक क्षेत्र पहिचान गरि हरेक बर्ष जिल्ला भरका ६० जना किसान यूवालाई ४० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको थियो।
कृषिमा यूवा आकर्षित गर्न प्रभावकारी देखिएको अनुदान र प्रोत्साहनको कार्यक्रम मन्त्रालयबाटै कटौती गरिए पछि कृषि कार्यालयमा गुनासो गर्दै पुग्ने किसानको संख्या बढेको जिल्ला कृषि विकास कार्यालय पाँचथरका बरिष्ठ कृषि विकास अधिकृत वेनु प्रसाद प्रसाईले जानकारी दिए।
यो कार्यक्रम जिल्लामा प्रभावकारी बनेको थियो, तर मन्त्रालयले नै वजेट कटौति गर्नु दुखद हो, जिल्ला किसान महासंघ अध्यक्ष गणेश पोख्रेलले भने,“ यो कार्यक्रम संचालन भएपछि वैदेशिक रोजगारी बाट फर्केका यूवायूवतीहरु कषि पेशाप्रति आकर्षित बन्दै गएका थिए, अव विदेशन जाने मन मारेर स्वदेशमै केहि गर्न खोज्ने यूवायूवतीहरुमा नैराश्यकता पैदा भएको छ।” यो कार्यक्रम संचालन भएदेखि अहिलेसम्म वैदेशिक रोजगारबाट फर्केका १ सय २० जना यूवायूतीहरु लाभान्वित भएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ।