arrow

दार्चुलाबाट प्रतिनिधि सभामा बडू र ठगुन्नाबीच प्रतिस्पर्धा

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ असोज २३ आइतबार
badu-thagunna.jpg

दार्चुला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका गणेश सिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने भएको छ । 

एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा गठबन्धनका साझा उम्मेदवार वर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडू र पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाबीच प्रतिस्पर्धा हुने भएको हो । 

२०४८ मा दुई वटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र राप्रपाका प्रचण्ड बहादुर सिंह निर्वाचित भएका थिए । २०५१ देखि हालसम्मका निर्वाचनमा भने दार्चुलामा एउटा मात्र निर्वाचन क्षेत्र कायम गरिएको छ ।

२०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू नेकपा एमालेका प्रेमसिंह धामीसँग पराजित भएका थिए । फेरी २०५६ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी भए ।

२०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा नेकपा माओवादीका लक्ष्मणदत्त जोशीले फराकिलो मतान्तरले विजय हासिल गरे । त्यो निर्वाचनमा कांग्रेसका बडू र एमालेका ठगुन्ना दुवै नेकपा माओवादीका जोशीसँग पराजित भएका थिए । 

२०७० को संविधानसभा निर्वाचन र २०७४ सालको निर्वाचनमा विजयी बनेका एमाले नेता गणेश सिंह ठगुन्ना यस पटक पनि चुनाव जितेर ह्याट्रिकको दाउमा छन् । ०७४ सालमा नेकपा माओवादी र एमालेको बाम गठबन्धन हुँदा ठगुन्ना फेरी विजयी बने । त्यो बेला कांग्रेसका दिलेन्द्र प्रसाद बडू समानुपातिकबाट सांसद बनेका थिए । 

बडू २०४८ साल यता केन्द्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् । २०४८ सालको आम निर्वाचनबाट दार्चुलादेखि संसद्को यात्रा तय गरेका बडू यस पटक पनि संसद् छिर्न दार्चुलाबाट प्रत्यक्षका उम्मेदवार बनेका छन् ।

आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन हुँदैछ । प्रदेश सभाका २ क्षेत्र रहेको दार्चुलामा सत्तारुढ गठबन्धनले प्रदेश सभा क्षेत्र नम्बर १ मा कांग्रेसका विक्रम सिंह धामीलाई उम्मेदवार बनाएको छ भने प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादीका मान बहादुर धामी उम्मेदवार छन् । यस्तै नेकपा एमालेले प्रदेश सभा क्षेत्र नम्बर १ मा हरदेव जोशी र प्रदेश सभा क्षेत्र नम्बर २ मा राम दत्त जोशीलाई उम्मेदवार बनाएको छ । 

सत्ता साझेदारी दलका रूपमा रहेको नेकपा एकीकृत समाजवादीले भने दार्चुलामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । समाजवादीले प्रतिनिधि सभामा नेता गणेशकुमार जोशीलाई उम्मेदवार बनाएको छ भने प्रदेश सभामा प्रतामराम वड र बीरबहादुर ठगुन्नालाई उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ