काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि अबको केही महिनापछि निर्वाचन हुँदैछ । विभिन्न जिल्लागत उद्योग वाणिज्य संघ, बस्तुगत र एशोसिएट्स गरी ३ वटा प्रक्रियाबाट महासंघको नेतृत्वको लागि निर्वाचन हुँदैछ ।
यसरी आउने नेतृत्वको लागि हरेक कार्यकालमा फरकफरक नेतृत्व आउनेगरेको छ । एकाध जिल्लामा बाहेक अन्य सबै जिल्लाबाट आउने प्रतिनिधिहरू ताजा प्रतिस्पर्धा बाट चुनिएर आउने गरेका छन् । तर नेपाल उद्योग वाणिज्य महासंघकै एउटा यस्तो जिल्ला छ जहाँ वर्षैसम्म पनि न त उद्योग वाणिज्य महासंघको निर्वाचन भएको छ ।
नेपाल उद्योग वाणिज्य संघ मुस्ताङको नेतृत्व २३ वर्ष भन्दा बढी देखि फेरिन सकेको छैन । विनोद चौधरीको पालादेखि अहिलेसम्म नयाँ अधिवेशनको लागि आह्वानसाँ नभएको भन्दै उद्योग वाणिज्य संघ भित्र असन्तुष्टि चुलिएको छ । अहिलेका अध्यक्ष खगेन्द्र तुलाचनले नेतृत्व परिवर्तनको लागि कुनै चासो दिने नगरेको र कुनै बैठक पनि बोलाउने नगरेको आरोप एक सदस्यले लगाए ।
उनले उद्योग वाणिज्य महासंघ जस्तो संस्थाको केन्द्रीय प्रतिनिधि बनेर आउने जिल्ला उद्योग वाणिज्य संघमा यस्तो अस्वस्थ प्रतिस्पर्धा हुँदा पनि नेपाल उद्योग वाणिज्य महासंघको भने अझै आँखा नपुग्नु दुखद् रहेको बताए ।
यस विषयमा कुराकानी गर्दा मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष तुलाचनले यस विषयमा खासै कुरा गर्न चासो दिएनन् । उनले दुई दशक यतादेखि आफू नेतृत्वमा रहेको कुरा स्वीकार गरेपनि किन नेतृत्व परिवर्तन हुन सकेन भन्ने विषयमा भने प्रतिक्रिया दिएनन् ।