दार्चुला । प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको तर्फबाट दार्चुला जिल्लाका साझा उम्मेदवार एवं उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो पार्टी नेपाली कांग्रेसले ४८ सालको घोषणा पत्रमा लेखेका योजनाहरुले अहिलेसम्मसमेत पूर्णता नपाएको बताएका छन् ।
मंगलबार दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बडूले ४८ सालमा आफूले शुरु गरेको सदरमुकामदेखि तिंकर र गोकुलेदेखि खण्डेश्वरीसम्मको सडकले अझै पनि पूर्णता नपाएको बताएका हुन् ।
०४८ सालदेखि हालसम्म पटकपटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री बडूले संविधान र लोकतन्त्रको संरक्षण एवं विकासका लागि कांग्रेसलाई जिताउन आवश्यक रहेको बताएका छन् ।
उनले आफू र आफ्नो दल कांग्रेसले भारतबाट मागेरै भए पनि ०४८ सालमै दार्चुलामा बिजुली बालेको बताएका छन् । उनले भनेका छन्,'हामीले त्यतिबेला शुरु गरेको चमेलिया, थाछ नि तपाईलाई समय लाग्यो पूरा हुनलाई, तर ४८ सालमै हामीले बिजुली बाल्यौं, यद्यपि हामीले भारतबाट लियौं होला, लालीबाट, हुथीबाट र जोलजिबीबाट हामीले तीन ठाउँबाट बिजुली शुरु गर्याैं, हामीसँग अहिले बिजुली छैन, बिजलुी दिनुस हामीलाई चाहिन्छ भन्यौं र त्यो एउटा शुरुआत कांग्रेसले गर्याे ।'
नेपाली कांग्रेसका नेतासमेत रहेका उद्योगमन्त्री बडूले अघि भनेका छन्,'हाम्रो यदि ४८ सालको घोषणापत्र तपाईहरुले हेर्नुहुन्छ भने हामीले सडकसञ्जालको कुरा जुन गरेका थियौं त्यो अहिले पनि सञ्चालनमै छ त्यो भनेको सदरमुकामदेखि तिंकर पुर्याउने र यो बेल्टलाई जोड्ने गोकुलेदेखि खण्डेश्वरीसम्मको सडकको कुरा हामीले त्यतिबेला नै गरेका थियौं र अहिले पनि पूर्णता पाइरहेको छैन ।'
यस्तै उनले ०५६ सालदेखि ०५९ सालमा आफुले शिक्षा मन्त्रालय सम्हाल्दा शिक्षक सेवा आयोगको सुरुवात गरेको र स्कुलहरुको सरकारीकरण र स्थायीकरण शुरु गरेको बताएका छन् । शिक्षकहरुको निमित्त किताबखानाको स्थापना पनि त्यतिबेला नै भएको उनको भनाइ छ ।
०६२ र ०६३ को आन्दोलनपछि पनि करिब डेढ वर्ष सरकारमा आउँदा आफूले धमाधम रेडियो खोल्न अनुमति दिएको र दार्चुला जिल्लामा पनि त्यतिबेलै एफएमको शुरुआत भएको उनले बताएका छन् । यस्तै उनले त्यतिबेला नै सूचनाको हकको कानून र श्रमजीवी पत्रकाकारको कानून बनाएको बताएका छन् ।
पछिल्लो पटक गत चैत २४ गतेपछि उद्योग मन्त्रालयमा आएयता त्यतिबेला बन्द रहेका अदालत खोल्नका लागि आफुले विभिन्न काम गरेकोसमेत मन्त्री बडूले बताएका छन् । यस बीचमै दार्चुला जिल्लाका लागि तत्काल केही गर्नुपर्छ भन्ने उद्देश्यले ३ वटा खाद्य डिपोको संख्या बढाएर ८ बनाएको र जिल्लामा खाद्य संस्थानको कार्यालय पुर्नस्थापना गरेको बताएका छन् ।
यस्तै अल्लो उत्पदान गर्ने उद्यमीहरुका लागि प्रविधि हस्तान्तरण गरेकोसमेत बताएका छन् । उनले २०४८ सालपछि मन्त्री पदमा रहँदा दार्चुलामा ठूला खानेपानीका योजना शुरु गरेको बताएका छन् ।
उद्योगमन्त्री बडूले दार्चुला जिल्लालाई भारतसँग सवारी आवतजावत हुने पहिलो पहाडी जिल्ला बनाउन पक्की पुलको शिलान्यास गरेकोसमेत दाबी गरेका छन् ।
दार्चुलामा भारतसँग जोडिएको पक्की पुल बन्दा अन्य बैतडी, बझाङ् लगायतका पहाडी जिल्लाको ढुवानीसमेत दार्चुलाबाटै हुने हुँदा यसले दार्चुलाको विकासमा ठूलो योगदान पुर्याउने उनको भनाइ छ ।