न्यूयोर्क। ब्रिटिश नम्बर एक टेनिस खेलाडी एण्डी मरे अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएका छन्।बुधबार राति भएको खेलमा मरेलाई जापानी खेलाडी केई निशिकोरीले पाँच सेटको खेलमा हराएका हुन्। दोस्रो विश्व वरियताका मरे विरुद्धको खेल निशिकोरीले १–६, ६–४, ४–६, ६–१ र ७–५ को सेटमा जितेका हुन्।
यो वर्ष हरेक ग्राण्डस्लामको फाइनलमा पुगेका मरेलाई यो हारले भने बुधबार मरेका लागि ‘एक अँध्यारो बुधबार’को रुपमा परिभाषित भएको बेलायती पत्रिकाहरुले उल्लेख गरेका छन्। अब सेमिफाइनलमा निशिकोरीको भिडन्त स्टानिस्लास वावरिङका वा हुँवा मार्टिन डेल पोट्रोबीचको विजेतासंग हुनेछ। युसएस ओपनमा विश्व नम्बर एक नोभाक जोकोभिच र गेल मोन्फिल्स यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
महिलातर्फ डेनमार्ककी क्यारोलिन वोज्नियाकी, चेक खेलाडी क्यारोलिना प्लिस्कोभा र जर्मनीकी एन्जेलिक केर्बर सेमिफाइनलमा पुगिसकेका छन्।त्यस्तै बिहीबार बिहान भएको खेलमा विजयी हुँदै विश्व नम्बर एक तथा सर्वाधिक ग्राण्डस्लाम खेल जित्ने कीर्तिमान रचेकी अमेरिकी खेलाडी सेरेना विलियम्स पनि सेमिफाइनलमा पुगेकी छिन्। ग्राण्डस्लाम प्रतियोगितामा ३०९ जित हासिल गर्ने क्रममा सेरेना विलियम्सले सिमोना हालेपलाई ६–२, ४–६ र ६–३ ले हराइन्।