arrow

गठवन्धनको नाममा पार्टीले धोका दिएकाले स्वतन्त्र उम्मेद्वारी दिन बाध्य भएँ : कांग्रेस नेता साह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
Hari Shankar saha.jpg

जनकपुरधाम । मधेश प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका हरिशंकर साहले आफूलाई नेपाली कांग्रेसले धोका दिएको आरोप लगाएका छन् । साहले क्षेत्रीय कमिटीबाट आफ्नो एकल नाम सिफारिस भए पनि पार्टीले नियम मिचेको र आफूलाई धोका दिएको बताए । 

कांग्रेसले सत्ता गठबन्धनका नाममा आफूलाई निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित गरेको भन्दै उनले पार्टीको निर्देशन नमान्ने स्पष्ट पारे । जनकपुरधाममा पत्रकार सम्मेलन गरेर साहले आफूले काँग्रेससँगको चार दशकभन्दा लामो साइनो तोड्न बाध्य भएको बताए । 

उनले आफ्नो उम्मेदवारी अब कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे । उनले भने, ‘पार्टी र सत्ता गठबन्धनको निर्देशनलाई अब कुनैपनि हालतमा मान्दिनँ । धनुषा-३ को ‘ख’ बाट मेरो उम्मेदवारी कायमै रहन्छ । जनताले साथ र सहयोग गर्नुहुनेछ भने मलाई पूर्ण विश्वास छ ।’

साहले कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको दवावमा आफूले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको भन्दै कुनैपनि हालतमा पछि नहट्ने र आफ्नो जित सुनिश्चित रहेको दावीसमेत गरे ।

आफू स्वतन्त्र निर्वाचित हुँदा जनताको प्रतिनिधिको रुपमा पनि स्वतन्त्र नै रहने र जनताको म्याण्डेटबिना कुनैपनि हालतमा विश्वासघात नगर्ने दाबीगरे । साहले  भने, ‘गठबन्धनको भ्रम जाललाई चिर्न मेरो उम्मेदवारी कायम रहन्छ ।’

२०३६ सालमा जनकपुरधामस्थित राराब क्याम्पसबाट राजनीतिक गतिविधिमा संलग्न बनेका साह २०३८ सालमा नेविसंघका सेक्सन सदस्य बनेका थिए । नेविसंघमा आवद्ध रहँदा २०४२ सालको सत्याग्रहका क्रममा ११ दिन प्रहरी हिरासतमा बसेका साहले प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए । 

उम्मेद्वार साहले निर्वाचन आयोगबाट चुनव चिन्ह ‘फ्यान’ पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ