काठमाडौं । आगामी कार्तिकमा हुने एएफसी सोलिडारिटी कप फुटबलमा नेपाल पाकिस्तान र ब्रुनाई रहेको समूहमा परेको छ । समूह ए मा परेको नेपालका खेल भने यकिन नभएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले बताए । उनका अनुसार नेपाललाई लुजिङ टिमसंग खेलाउने भनिएपनि को संग परेको छ भन्ने स्पस्ष्ट जानकारी आएको छैन ।
उनले भने, ‘नेपाल समूह ए मा परेको पक्का भएको छ । खेलाउनलाई लुलिङ टिम भनेको छ । अरु केही भनेको छैन ।’ प्रतियोगितामा ८ वा ९ टोलीको सहभागिता रहने एएफसीले जनाएको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा पाकिस्तान, ब्रुनाई छन् । यस्तै, समूह बी मा श्रीलंका, मकाउ र मङ्गोलिया छन् ।
२०१८ को विश्वकप र २०१९ को एसियन कपमा छनोट हुने नसकेका कमजोर ६ टोलीलाई फिफा बरियताको आधारमा क्रमैसँग राखिएको छ । जसमा नेपाल, श्रीलंका, पाकिस्तान, मकाउ, ब्रुनाई र मंगोलिया समावेश छन् । अन्य दुई वा तीन टोलीको टुंगो भने आगामी सेप्टेम्बर ६ र अक्टोवर ११ मा हुने एशियन कप छनोट प्लेअफ सकिएपछि लाग्नेछ ।
टिमोर र ताइवान तथा भुटान र बंगलादेशबीच एक टोली समूह ए मा रहनेछन् । आगामी अक्टोवर १० मा हुने एसियन कप छनोट प्ले अफमा भुटान बंगलादेशसँग पराजित भए प्रतियोगितामा ८ टोलीमात्र समावेश हुने पक्का पक्की हुनेछ । नेपाल रहेको समूह ए मा चार टोलीमात्र रहने छन् । एएफसीले भुटानले प्रतियोगिता खेल्न इच्छा नदेखाएको समेत जनाएको छ ।
यस्तै, समूह बीमा माल्दिभ्स र लाओसमध्ये एक टोली थपिने छ । दुई समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् । एएफसी च्यालेन्ज कपको विकल्पमा अघि सारिएको हो । यो संगै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आगामी सन् २०१७ को अन्त्यतिर हुने साफ च्याम्पियनसीपसम्म कुर्नु पर्ने छैन । नेपालले त्यसअघि नै औपचारिक प्रतियोगिता खेल्ने छ ।
एएफसी कपका लागि छनोट हुन नसकेका कमजोर राष्ट्रहरुका लागि यसै वर्षबाट सुरु भएको सो प्रतियोगिता कार्तिक १७ (नोभेम्बर २) बाट सुरु हुने भएको छ । मलेसियाको क्लालम्पुरमा हुने प्रतियोगिता कार्तिक ३० (नोभेम्बर १५ सम्म) चल्ने छ ।