arrow

देउवा समूहमा मिसिदै कोइरालाका हस्तीहरु

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
ananda-dhungana.jpeg
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन पछि नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा नयाँ नयाँ समिकरणहरु बन्ने र विग्रने क्रम शुरु भएको छ। महाधिवेशनकै बेलादेखि यस्ता समिकरणहरु बन्ने क्रम शुरु भएको देखिएको छ। महाधिवेशनपछि काँग्रेसको संसदीय दलको नेता चुन्ने संसदीय दलको चुनावसम्म आइपुग्दा यस्ता समिकरणहरुमा नयाँ नयाँ सदस्य थपिने र छोडिने कारणले समुहहरु अझ वलिया र कमजोर हुँदै गएको देखिएको छ। देखिने तहमा एउटा र भित्रि तहमा अर्कै समिकरणहरु बन्ने क्रम त्यसपछिका राजनीतिक घटनाक्रमहरुमा पनि देखिन थालेको छ।
 
नेपाली काँग्रेसको भातृसंस्था नेविसंघको महाधिवेशनमा पार्टीको राजनीतिलाई नै प्रभावित पार्नेगरि समिकरण बन्यो। त्यो समिकरणको प्रभाव नेविसंघ केन्द्रीय समितिमा काँग्रेस भित्रका प्रमुख तीन समुहको लगभग समान उपस्थितिले पनि देखाएको छ।
 
महाधिवेशनमा आएको परिणामपछि काँग्रेसका भातृ संस्थाहरुको बाँकी महाधिवेशनमा थप नयाँ समिकरणहरु बन्ने अनुमान पनि शुरु भएको छ। काँग्रेसभित्र यतिखेर सतहमा नदेखिएको तर भित्रि तहमा चर्चा शुरु भएको नयाँ समिकरणले निकै चर्चा पाएको छ। नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाका पालादेखि नै गिरिजाप्रसाद कोइरालाको अत्यन्तै विश्वासपात्रका रुपमा काम गरेका धनुषाका आनन्द ढुङगाना उनको शेखपछि शुसिल कोइरालका पालामा पनि उनीसँगै अत्यन्तै निकट भएर काम गरे।
 
गिरिजाप्रसादका अत्यन्तै निकटका सहयोगी उनले शुसिल कोइरालाका धेरैजसो निर्णयमा आफ्नो प्रभाव राख्थे। तराई मधेशमा काँग्रेसका अर्का प्रभावशाली नेता तथा पार्टी सभापति गिरिजाप्रसाद र शुसिलसँग आफ्ना अडान नछोड्ने नेता भनेर चिनिएका महेन्द्रनारायण निधीका छोरा विमलेन्द्र निधीसँग पौठाजोरी खेल्न उनै ढुङगाना कोइराला समुहका तर्फबाट मैदानमा उत्रन्थे। धनुषा जिल्लामा घर भएका निधी र ढुङगानको लामो समय आआफ्नो छुट्टै समुह पनि बन्यो।
 
त्यसकै कारण तराई मधेशमा दुई अलग अलग समुहहरु सतहमा आए भने त्यसले काँग्रेसलाई कतिपय ठाउँमा फाइदा पुर्‍याएपनि धेरै ठाउँमा घाटा पुर्‍याएको कार्यकर्ताहरुले बताउने गर्ने। तराई मधेशमा कोइराला समुहका तिनै रणनीतिकार र योजनाकार सभापति शुसिल कोइरालाको निधनपछि भने एक्ला झै देखिदै गए।
 
कोइरालाका अत्यन्तै विश्वास पात्रहरु फरमुल्लाह मन्सुर, पद्मनारायण चौधरीहरु देउवा क्याम्पमा गएर महाधिवेशनमा देउवालाई सहयोग गरेपछि तत्कालिन अवस्थामा संगठन विभाग प्रमुख ढुङगाना कोइराला/पौडेल समुहमा हुँदाहुँदै भित्री तहमा लामोसमयदेखिका स्थानिय प्रतिष्पर्धी विमलेन्द्र निधीसँग भित्री तहमा सहकार्य गर्न वाध्य भएका थिए। ढुङगानाका नजिकका सहयोगीहरु महाधिवेशनमा उहाँले निधी दाईको सहयोग लिएको कुरा स्विकार्छन।
 
केन्द्रीय समितिमा निर्वाचित हुन ढुङगाना दाईले निधी दाईको सहयोग लिनुभएको थियो। त्यसपछि अरु थप कुरा पनि भएको हुनसक्छ ति निकट सहयोगीको भनाई छ। शुसिल कोइराला नेतृत्वको सरकारका बेलामा ढुङगाना पटक पटक मन्त्री बन्ने चर्चामा थिए। तर अन्तिम समयमा आएर मन्त्री बन्नबाट चुक्दै आएका थिए। यो पटक पनि मन्त्री बन्ने अवस्था थियो तर अन्तिम समयमा नाम परेन। 
 
पौडेल समुहबाट मन्त्रीमा सिफारिस हुने अपेक्षा गरेर बसेका ढुङगाना आफ्नो नाम नपरेपछि फेरि एक पटक जिल्लिने अवस्थामा आए। सधै राजनीतिक रुपमा भिड्नुपर्ने निधी सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री र गृहमन्त्री समेत भइसक्दा आफू मन्त्री पनि नबनेपछि ढुङगाना रुष्ट हुँदै आएका उनी निकटहरु पनि बताउँछन। यो अवस्थामा उनलाई आफूले नै विश्वास गरेका समुहले समेट्न नसकेपछि उनी निधीसँगै हात मिलाउने अवस्थामा आइपुगे।
 
उमेर पनि विस्तारै बढ्दै जाँदा राजनीतिक रुपमा भिड्ने मात्र काममा पनि रुची हुन छाडेर होला ढुङगाना हात मिलाउने अभियानमा लागेको धनुषाका काँग्रेस कार्यकर्ताहरुको बुझाइ छ। कोइराला पौडेल समुहभित्र ढुङगानासहित पार्टीका नेताहरु दिलेन्द्र बडु र दिलबहादुर घर्तीहरुको उपसमुह छ।
 
त्यो समुह शुसिल कोइराला जीवित हुँदा पार्टी र सरकारका निर्णयहरुमा प्रभावित हुन्थ्यो। तर पार्टी सभापतिमा देउवा निर्वाचित भएर आएदेखि पौडेल समुहबाट पनि खासै भुमिका नपाएका ढुङगानाले बाँकी दुई नेतालाई पनि एक ठाउँमा राखेर शेर बहादुर देउवासँग समेत कुरा गर्न तयारी गरेको स्रोतको भनाई छ। बडु र घर्तीले ढुड्गानाका कुरामा सहमति जनाए यि नेताहरु देउवा समुहमा नयाँ प्रवेशीका रुपमा देखिनेछन्। शेर बहादुर देउवासँग सधै भिड्दै आएका बडुलाई प्रदेश नम्वर ७मा 'एक्लो वृहस्पति झुटा' भएर बस्नुभन्दा सहकार्य गर्न सुझाव दिनेहरु पनि धेरै छन्। 
 
घर्तीलाई पनि नयाँ समिकरणको लागि सुझावहरु आएको बताइएको छ। कोइराला परिवारसँग नाता पर्ने घर्तीलाई नयाँ समिकरणका लागि उकास्नेहरुले अम्विका बस्नेतले देउवा क्याम्पमा गएर गरेको राजनीतिक प्रगति पनि सम्झाएका छन्। जे भएपनि नयाँ राजनीतिक समिकरण बन्ने र विग्रने खेल काँग्रेस भित्र महाधिवेशनपछि भइरहेको छ। पार्टी पदाधिकारी र विभागमा मनोनयन, सरकारमा मन्त्रीहरुको चयन लगायतका काम भइरहँदा यो समिकरण बन्ने र विग्रने भइरहने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ