न्यूयोर्क। अन्ततः विश्व नम्बर एक अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएकी छिन्। सन् २०१३ को फेबु्रअरी १८ तारिखदेखि निरन्तर विश्व नम्बर एकमा रहेकी सेरेना यो हारले अब विश्व नम्बर एकमै रहिरहने सम्भावनासमेत कम हुँदै गएको छ।
उनले निरन्तर १८६ हप्ता आफूलाई नम्बर एक खेलाडी बनाउन सफल भएकी छिन्। तर ३०९ जित हासिल गरेकी सेरेनाको विजयी यात्रालाई फुलस्टप लगाउन सबैभन्दा ठूलो भिलेन खेल्ने खेलाडी हुन् चेक गणतन्त्रकी खेलाडी क्यारोलिना प्लिस्कोभा। १० औं वरियताकी क्यारोलिनाले खेल ६–२ र ७–६ को सोझो सेटमा जितेकी हुन् ।
यो हारसँगै सेरेना विलियम्सको कीर्तिमानी २३ औं ग्रान्डस्लाम जित्ने सपना चकनाचुर भएको छ । २२ पटक ग्रान्ड स्लाम उपाधि जितिसकेकी सेरेना सर्वाधिक उपाधि जित्ने खेलाडीहरुको सूचीमा स्टेफी ग्राफसंगै दोस्रो स्थानमा छिन्। यो सूचीको पहिलो स्थानमा रहेकी अष्ट्रेलियन हस्ती मार्गरेट कोर्टको नाममा २४ ग्रान्डस्लाम छ।
पहिलो पटक कुनै पनि ग्राण्डस्लाम टेनिसको फाइनलमा पुगेकी प्लिस्कोभालाई सेरेनाको टेनिसमा आइसब्रेक लगाउने सबैभन्दा ठूलो खेलाडी मान्नसमेत थालिएको छ । ३४ वर्षे सेरेना यो हारले भने सबैभन्दा ठूलो शोकमा छिन् ।
प्लिस्कोभाले अब उपाधिका लागि डेनमार्ककी क्यारोलिन वोज्नियाकी र जर्मनीकी एन्जेलिक केर्बरबीचको दोस्रो सेमिफाइनलको विजेतासंग खेल्नेछिन्। प्लिस्कोभाले अर्को एउटा कीर्तिमान पनि रचेकी छिन् त्यो हो अमेरिकी दिदीबहिनी सेरेना र भेनस विलियम्सलाई हराउने कीर्तिमान । सन् २००९ मा किम क्लाइस्टर्सले हराएपछि कसैले हराउन सकेको थिएन ।