arrow

सुप विश्वविद्यालयः तीनजना डिनको एकसाथ पदावधि सकियो

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
farwestern-university.png
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीनजना डिनको पदावधि एकै साथ सकिएको छ । चार वर्षअघि नियुक्त भएका विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा डा भवानीचन्द ठकुरी, वाणिज्य सङ्कायका डिन प्रा भारती जोशी र शिक्षा शास्त्र सङ्कायका डिन प्रा डा नारद पाण्डेयको पदावधि सकिएको हो । 
 
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७, को दफा २६ को प्रावधानअनुसार कार्यकारी परिषद्ले तीनजनै डिनको नियुक्ति गरेको थियो । 
 
यही भदौ २१ गतेदेखि तीनवटै सङ्कायका डिनको पदावधि सकिएपछि विश्वविद्यालयमा नयाँ डिन नियुक्तिका लागि विभिन्न प्राध्यापक सङ्घसङ्गठनबीच छलफल र आन्तरिक तयारी सुरु भएको छ । 
 
नयाँ डिन नियुक्तिका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र निकटका प्राध्यापक सङ्घसङ्गठन आन्तरिक गृहकार्यमा जुटेका छन् । 
 
सम्बन्धित सङ्कायमा सेवारत रहेका प्राध्यापक र सहप्राध्यापक मध्येबाट कार्यकारी परिषद्ले डिन नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । 
 
विश्वविद्यालय सभाले इन्जिनियरिङ सङ्कायलाई छुट्टै सङ्कायको मान्यता दिएकाले इन्जिनियरिङ सङ्कायको डिनसमेत विश्वविद्यालयले नियुक्त गर्नुपर्नेछ । 
 
मानविकी सङ्कायका डिन प्रा डा टेकराज पन्तको उमेर हदका कारण पदावधि सकिएपछि गत वर्ष रिक्त स्थानमा प्रा डा चन्दन सिंह बोहरालाई नियुक्त गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ