arrow

बाणगंगामा छ अर्बको तटबन्धको डीपीआर स्वीकृत, सुरेन्द्र आचार्यको पहल सफल, स्थानीय खुशी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
surendra-raj-acharya-badganga.jpg

कपिलवस्तु । वर्षातका बेला कपिलवस्तु जिल्लाको बाणगंगा नदीको कटानले यहाँका अकबरपुर, खोरिया, सेमरी, सिग्रहा, हरदौना लगायतका क्षेत्रका नागरिकलाई निद्रा लाग्दैन । विशेषतः कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिकाका जनतालाई हरेक वर्षातका बेलामा नदी कटानको त्रास रहँदै आएको छ । 

तर नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यको पहलमा बाणगंगा नदीको ऋगीघाटदेखि यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिकाको भारतीय सीमानासम्म तटबन्ध निर्माण हुने भएपछि अहिले यहाँका स्थानीयमा आशा पलाएको छ । हरेक वर्षको नदी कटानका कारण जोखिममा रहेका नागरिकलाई तटबन्ध नहुँदा नदी कटान र डुबानको सास्ती भोग्नु पर्ने बाध्यता अब अन्त्य हुने भएको छ । 

अहिले बाणगंगा नदीको दुवैतर्फ भारतको सहयोगमा जनताको तटबन्ध कार्यक्रम फिल्ड अफिस नम्बर ५ बुटवलले तटबन्ध निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भारतको गंगानदीमा जोडिने नदीको तटबन्धका लागि त्यहाँको फल्ड कन्ट्रोल कमिशनले तटबन्ध बनाएर बाढी नियन्त्रण र नदी कटान रोक्न सहयोग पुर्याउने उद्धेश्यले नेपाली पक्षले तयार पारेको ६ अर्ब बढीको डीपीआर स्वीकृत गरेको छ । 

डीपीआर स्वीकृत भएसँगै तटबन्ध निर्माणका लागि ६ अर्ब बढीको सहयोग आउने सुनिश्चित भएको छ । जसका कारण जनताको तटबन्ध कार्यक्रमले गत वर्ष तयार पारेको ६ अर्ब बढीको डीपीआर स्वीकृत भई कार्यान्वयनको चरणमा गएको हो । 

सहयोग गर्ने राष्ट्र भारतले तटबन्धको कार्यलाई प्याकेज प्याकेजमा स्वीकृत गर्ने छ । दुवै राष्ट्रको ज्वाइन्ट कमिटी अन ईमन्डेसन फ्ल्ड म्यानेजमेन्ट (जेसीआईएफएम) ले चाँडै अनुगमन गरे लगत्तै ठेक्का प्रक्रिया शुरु गरी सन् २०२८ सम्म तटबन्ध निर्माणको कार्य पूरा गरिने छ । 

बाणगंगा नदीको ४९ किलोमिटर लामो क्षेत्रफलमा हाल तटबन्ध नभएका स्थानमा तटबन्ध निर्माणसँगै तटबन्धमाथि ग्राभेल सडक निर्माण गर्ने योजना डीपीआरमा राखिएको छ । 

“हामीले बाणगंगा नदीको ४९ किलोमिटरमा दुवैतर्फ तटबन्ध निर्माणका लागि तयार पारेको ६ अर्ब बढीको डीपीआर भारतको गंगा फ्ल्ड कन्ट्रोल कमिशनले स्वीकृत गरिसकेको छ । हामी चाँडै टेन्डर प्रक्रिया अगाडि बढाउने क्रममा छौं”, जनताको तटबन्ध कार्यक्रम फिल्ड अफिस नम्बर ५ बुटवलका डिभिजन ईन्जिनियर ईश्वरी तिवारीले भने । 

उनले दुवै तर्फ गरी ९८ किलोमिटरमध्ये ७२ किलोमिटर बढी क्षेत्रफलमा तटबन्ध बन्ने जानकारी दिए ।  

यता बाणगंगा नदीमा तटबन्ध बन्ने भएपछि वर्षौंदेखि भोग्दै आएको बाढी र नदी कटानको समस्या समाधान हुने अवस्था आएको यशोधरा गाउँपालिका वडा नम्बर ८ खोरियाका पुन्नवासी कोरीले बताए । 

“हामी हरेक वर्षको बाढीमा कहिले बाध भत्किन्छ भनेर त्रासमा छौं । गत वर्ष केही बाँध भत्कियो, तर क्षति हुन पाएन । अब तटबन्ध बन्ने भएपछि खुशी लागेको छ”, उनले भने । 

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यको पहलले जनताले हरेक वर्ष खेप्दै आएको नदी कटानको समस्या समाधान गरी तटबन्ध निर्माण हुन थालेकोमा उनले नेता आचार्यलाई धन्यवाद दिए । 

“हामी बाणगंगा नदीको कटानले धेरै पीडित र त्रसित छौ । कांग्रेस नेता आचार्यले पहल गरी बाणगंगा नदीको तटबन्धका निर्माणका लागि ठूलो बजेट ल्याउन सफल भएकोमा खुशी लागेको छ” खोरियाकै अर्का स्थानीय राधेश्याम पाण्डेयले भने । 

तटबन्ध निर्माण पूरा भए पछि बाणगंगा नदीको दुवै क्षेत्रका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र महाराजगंज नगरका बासिन्दाले नदी कटान र बाढीको समस्या भोग्नु नपर्ने उनले बताए । 

आफूले सिँचाई राज्यमन्त्री भएका बेला बाणगंगा नदीको कटान रोक्न महाराजगंज नगरपालिकाको सिंग्रहा र हर्दौनाको केहि स्थानमा तटबन्ध निर्माण गराएको भए पनि पछिल्लो समयको पहलले ऋगीघाटदेखि भारतीय सीमासम्म नै बाणगंगा नदीमा तटबन्ध बन्न थालेको नेता सुरेन्द्रराज आचार्यले बताए । 

“मैले अघिल्लो निर्वाचन नजिते पनि यस क्षेत्रका नागरिकले भोग्दै आएको बाणगंगा नदीको कटानको समस्या समाधान गर्न तटबन्ध निर्माणमा सधैं पहल गर्दै आएको थिए । पहलकदमीका क्रममा ६ अर्ब बढीको डीपीआर स्वीकृत भएसँगै तटबन्ध निर्माणको सुनिश्चितता भएको छ”, आचार्यले भने । 

आफूले तटबन्ध मात्रै नभई कपिलवस्तु नगरपालिकाको दोहनी बाध र महुवरिया बाध निर्माणका लागि राज्यमन्त्री भएका बेला बजेट छुट्टयाएर कार्यान्वयन गराउन सफल भएकोमा खुशी लागेको उनले बताए । 

आचार्य लोकतान्त्रिक वाम गठवन्धनका प्रतिनिधि सभा क्षेत्र नं २ का उमेद्धार पनि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ