काठमाण्डौ। नेपाल तरुणदलका एक चौथाई केन्द्रिय सदस्यहरूले समानान्तर समिति गठन गर्ने चेतावनि दिएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा असन्तुष्ट पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विधान समिति संयोजक मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशिल विचार, संगठनको भावनामाथी संस्थापन पक्ष र तरुणदलको अवैधानिक नेतृत्वले जथाभावि रुपमा कुल्चन खोजेको आरोप लगाए।
उनले भने “विभिन्न जिल्लाको विवाद समाधान नगरी महाधिबेशन हुन्छ भन्ने कसैले सोचेको छ भने केवल कोरा कल्पना हो ।” उनले निर्देशन समिति र केन्द्रिय समितिलाई यो बेला आँखा खोल्ने हिम्मत गर्न चेतावनी दिएका छन्।
कार्यक्रमका सभापति एव्म केन्द्रिय समितिको तर्फबाट नेतृत्व गरिरहेका रमेश प्रसाद खरेलले विधिसम्वत महाधिबेशन गर्नुपर्ने उल्लेख गर्दै भने “यदि हाम्रा मागहरूलाई वेवास्ता गरियो भने देश भर समानान्तर समिति गठन गरेरै भएपनि चुनावि मैदानमा उभिनेछौ।”
असन्तुष्ट पक्षले अघि सारेको मागहरुमा कतिपय जिल्लामा एक पक्षीय ढंगबाट विवादस्पद काम कार्वाही गरे गराएकोमा उक्त कार्य तत्काल बन्द गर्नुपर्ने, महाधिवेशनबाट कुनै पनि जिल्ला बञ्चित गर्न नपाइने, तत्काल जिल्ला अधिवेशन गरि महाधिबेशन प्रतिनिधिहरुको नामावली केन्द्रिय कार्य समितिको बैठकबाट अनुमोदन गरि महाधिबेशनको मिति र स्थान तय गर्नुपर्ने, संगठनको विधान पनि संशोधन गरि महाधिबेशन पहिले नै संघिय संरचना विद्यान निर्माण गर्नु पर्ने लगायत समावेश गरिएको छ।
उनीहरुले आफूहरुले अघि सारेका मागहरु बेवास्ता गर्दै बहुमत वा समूहका नाममा जवरजस्ती वा एकलौटी ढंगले अगाडि बढेमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले आवश्यक परेमा देशभरि समानान्तर समिति गठन गरी महाधिवेशन बहिष्कार गर्ने परिस्थिति समेत सिर्जना हुने चेतावनी दिएका छन्।