arrow

सयपत्री फूलको माग बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
marigold-flower1.jpg

पाल्पा । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । 

रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गरेका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् ।

“तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ”, उनले भने । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उनले बताउनुभयो । यसपटक तिहारमा मात्रै करिब रु दुई लाख ५० हजार बराबरको फूल बिक्री गर्ने उनको अनुमान छ । 

प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्री भइरहेको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदान–प्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनुअघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् । 

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिब रु एक लाख ५० हजार बराबरको फूल बिक्री गरे भने सङ्घ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार–प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दसैँयता मात्रै करिब रु ५० हजार बराबरको फूलमाला बिक्री गरेको उन बताउछन् । 

फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान, सीप पाएपछि नयाँ ढङ्गबाट खेती गरेका छन् । करिब पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उनको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ