भारतको अदुवा रणनीति, नेपाली भनेर चिनियाँ अदुवा निकासी भएको आरोप
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
1.4k
Shares
काठमाडौं। अहिले सारा मुलुक अदुवाको चर्चामा व्यस्त छ। प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणको केही दिन अघि भारतले नेपाली अदुवामाथि लगाएको प्रतिवन्धका बारेमा राजनीति र कुटनीति गर्माएको छ। वहश अदुवाकै छ। कसैले अदुवा रणनीतिको कुरा गरेर भारतले प्रधानमन्त्री दाहालको भारत भ्रमण अघी केहि दवावमा पार्न खोजेको बताइरहेका छन्।
चर्चामा रहेको कुरा अनुसार भारत कुनैपनि प्रधानमन्त्रीको भ्रमण अगाडि कुनै एउटा विषयमा अप्ठ्याररो सिर्जना गर्ने र प्रधानमन्त्रीको भ्रमणमा त्यही एजेण्डामा केहि गरिदिएको पार्न चाहन्छ। यो पटक पटक भएको स्मरण नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई सम्झिनेहरु बताउँछन्। यस भन्दा अघिका कतिपय अवस्थालाई सुक्ष्म रूपले विश्लेषण गर्ने हो भने पनि यो कुराको पुष्टि गर्ने आधार देखिन्छ।
तर, यतिका धेरै बहसको कुरा चलिरहँदा पनि अदुवा निकासीमा प्रतिवन्ध लगाउने भारतले के बहानामा अदुवा निकासीमा रोक लगाईरहेको छ भन्ने कुरा भने अहिलेसम्म खुलेर वाहिर भनेको छैन। तर, यस विषयमा उद्योगीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको टोलीले भारतीय राजदुतावासका अधिकारीहरुसँग गुनासो गरेको थियो। सो क्रममा भारतीय दूतावासका अधिकारीहरुले यस विषयलाई कुनैपनि कूटनीतिक चातुर्यताको रूपमा नहेर्न सुझाएका थिए। उनीहरुले नेपाली उत्पादनको नाममा गैर नेपाली उत्पादन समेत भारतमा निकासी हुन थालेकोले रोक्नु परेको प्रतिक्रिया दिएका थिए।
नेपाल उद्योग वाणिज्य महासंघका अधिकारीसँगको भेटका क्रममा भारतीय अधिकारीले नेपाली अदुवाको नाममा चिनियाँ अदूवा समेत भारत निकासी गर्ने गरिएको भेटिएपछि केही समयको लागि व्यवस्थापन गर्न रोक लगाईएको जवाफ फर्काएको महासंघका एक पदाधिकारीले जानकारी दिए।
चीनको नाम नै तोकेर चिनियाँ अदूवा भारत निकासी गर्ने गरिएकोले रोकिएको जवाफ महासंघका पदाधिकारीले भारतीय अधिकारीबाट पाएका थिए। तर प्रधानमन्त्रीको भ्रमणकै बेलामा रोक्ने काम हुनुले भने भारतले नेपालमाथि दवावको रणनीतिको रुपमा लिएको नेपाली बुझाइ छ।
पूर्वी नाकाबाट भारत निकासी हुने अदुवालाई भारतीय पक्षले नेपालबाट निकासी हुने सुपारीकै तहमा राखेर हेर्ने प्रयास थालेको महासंघ स्रोतको भनाई छ। नेपालमा उत्पादन हुने भन्दा र नेपाललाई चाहिने भन्दा वढी सुपारी आयात गरेर त्यसलाई नेपाली उत्पादनको लेवल लगाएर भारत निकासी गरेझै भारतीय पक्षले अदुवालाई पनि त्यस्तै त भएकव छैन भन्दै निगरानीमा राखेको बताएको स्रोतको दावी छ।