arrow

बिना घोषणापत्र उम्मेदवारहरु भोट माग्दै घरदैलोमा

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
darchula-balayar.jpg

दार्चुला । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि अहिले उम्मेदवारहरु मतदाताको घरघर पुगिरहेका छन् । निर्वाचन आयोगले कार्तिक १७ गतेसम्म चुनावी आमसभा, र्यालीजस्ता कार्यक्रममा रोक लगाउँदा उम्मेदवारहरु घरदैलोमा मात्र सीमित छन् । 

यहाँ मूख्य र साना दलका साथै स्वतन्त्र उम्मेदवारहरु मतदाताका दैलोमा पुगी भोट मागिरहेका छन् । मतदाताका घरमा पुगेका राजनीतिक दलका उम्मेदवारहरुसँग भने चुनावी प्रतिवद्धता तथा घोषणा पत्र छैन । उनीहरु मौखिक आश्वासन र एक अर्का राजनीतिक दलका कुरा काटेर मतदाता रिझाइरहेका छन् । यसअघिका अन्य निर्वाचनमा जस्ता उनीहरुसँग अहिले दलगत प्रतिवद्धता तथा घोषणा पत्र हातमा छैनन् ।

 यद्यपि दार्चुलामा एक जना मात्रै स्वतन्त्र उम्मेदवार रहेका शंकर सिंह धामीले भने १५ बुँदे घोषणा एवं प्रतिवद्धतापत्र सार्वजनिक गरेर चुनावी प्रचारप्रसार गरिरहेका छन् । 

उनी प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । उनी बाहेक राजनीतिक दलका उम्मेदवारहरु बिना घोषणापत्र नै घरदैलो गरिरहेका हुन् ।  सत्तारुढ दल नेपाली कांग्रेसले पनि तिहारपछि मात्रै पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । 

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छठपछि घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ । नेकपा माओवादी केन्द्रको पनि घोषणापत्र आएको छैन । 

जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार बनेकाहरुसँग जिल्लागत तथा क्षेत्रगत लिखित प्रतिवद्धता छैन । जसले गर्दा मतदाताको घरघर पुगेर मत मागिरहेका उनीहरुलाई असहज हुने गरेको छ । तिहारले समेत उनीहरुलाई छोएको छैन ।

 जिल्लामा अहिले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् । दुवै दलको प्रतिनिधित्व हुने गरी उम्मेदवार बनेका उनीहरुको संयुक्त घोषणापत्र आउँछ अर्थात् पार्टीगत घोषणा पत्र आउँछ भन्ने यकिन हुन सकेको छैन । 

त्यस्तै यसअघि दुई पटक लगातार प्रतिनिधि सभा चुनाव जितेको एमाले पुरानै प्रतिवद्धतामा अल्झिएर मतदातासँग मत मागिरहेको छ । एमालेले अझैपनि घोषणापत्र हातमा समाएको छैन । 

उम्मेदवार बनेका अन्य साना दलहरु पनि बिना घोषणापत्रै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनतासँग मत मागिरहेका छन् । घोषणापत्रले पनि मतदाताको मतमा प्रभाव पार्ने हुँदा यसलाई विशेष महत्वका साथ हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ