ईलाम। विषादी हालेको आरोपमा भारतले रोक्दै आएको अदुवाको निकासी शुक्रबारदेखि पुनः चालु भएको छ। दुई सातादेखि भारततर्फ निकासी हुन रोकिएको अदुवाको परीक्षणमा भारत असफल भएपछि निकासी चालु भएको ईलाम जिल्ला प्रशासनले जनाएको छ।
भारतीय व्यापारीहरुले अदुवामा विषादी हालेको फेला परेको र नेपाली अदुवामा चिनियाँ अदुवासमेत मिसाएको आरोप लगाउँदै अदुवा लैजान बन्द गरेका थिए। त्यसपछि अदुवा परीक्षणका लागि कोलकाता पठाइएको थियो। सो परीक्षणमा विषादी नभेटिएको पुष्टि भएपछि अदुवा निकासी खुलेको हो।
निकासी खुलेसंगै ईलाम, पाँचथर र ताप्लेजुङका किसानले राहत महसुस गरेका छन्। भारतले अदुवा नलिँदा करोडौं मूल्य बराबरको अदुवा गोदाममा थन्किएको थियो । पूर्वका गोदाममा अदुवा थन्किए पनि काठमाडौंलगायतका क्षेत्रमा भने भारतबाटै अदुवा आउने गरेको छ।