काठमाडौं । हरेक वर्ष झैं यस वर्ष पनि सेप्टेम्बर १० को अवसर पारेर ‘आत्महत्या रोकथाम दिवस’ विश्वभर मनाइँदैछ । यस वर्षको नारा ‘जीवन रक्षाका लागि स् सम्पर्क, संवाद र हेरचाह’ रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । सोही समयमा कम्तीमा २५ जनाले आत्महत्याको प्रयास गर्छन् ।
तसर्थ आत्महत्यालाई निरुत्साहित गर्न विश्वभर यो दिवसलाई प्राथमिकताका साथ मनाउने गरिन्छ । नेपालमा पनि आत्महत्याको दर बढ्दो छ । सामाजिक परिवेशका कारण पनि यसको दर बढ्दो रहेको मनोचिकित्सकहरु बताउँछन् ।
नेपालको परिप्रेक्ष पनि त्यस्तै कहालीलाग्दो छ । प्रतिदिन १५ नेपालीले आत्महत्या गर्नेगरको सर्वेक्षण छ । औसतमा नेपाल सार्क मुलुकहरूमध्ये आत्महत्याको समस्या बढी हुने पङ्क्तिमा दोस्रो स्थानमा देखिएको छ । श्रीलंका पहिलो नम्बरमा आउँछ ।
१५ देखि २४ र ५० वर्षभन्दा माथिका उमेरमा यो समस्याको मार अझ बढी देखिएको छ।
आखिर किन बढ्दै छ आत्महत्या ?
आर्थिक दुरावस्था, बेरोजगार, कोलाहलयुक्त सहरी परिवेश र निम्न आयबाट महँगो सहरमा जिउनुपर्ने बाध्यताले निराशा बढ्छ । मान्छे जीवनप्रति आशावादी हुन नसक्दा नै मानिसले आत्महत्याको बाटो रोज्ने गरेको वरिष्ठ मनोरोग विशेषज्ञ सरोजप्रसाद ओझा बताउँछन् ।
समाजमा आत्महत्या गर्ने महिलाको संख्या बढ्दो छ । पति–पत्नीबीच हुने आपसी झगडाकै कारण बालबच्चा टुहुरो पारेर वा छोराछोरीसमेत नै आत्महत्या गर्नेको संख्या पनि बढी छ ।
एकबारको जूनीलाई त सदूपयोग गर्नुपर्ने भन्दै शनिबार बिहान ८ बजे एकै ठाउँमा भेला भएर विभिन्न कार्यक्रम भएका छन् ।
त्यस्तै आत्महत्याजस्तो घृणित सोचलाई रोक्न आब्हान गर्दै राति ८ बजे पनि हरेक घरका झ्यालमा मैनबत्ती बाल्ने कार्यक्रम रहेको छ ।