arrow

प्रिमियर लिग: म्यानचेस्टर डर्बीमा स्टार प्रशिक्षकहरुको भिडन्त

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
Manchester_Derby.jpeg
काठमाडौं। म्यान्चेस्टर युनाइटेड र म्यानचेस्टर सिटी, यी दुवै प्रिमियर लिगका महारथी हुन् । यी दुई महारथी अाज ओल्डट्राफोडमा भिड्दैछन् । खेल नेपाली समय अनुसार शनिवार साँझ ५:१५ मा सुरु हुनेछ । 
 
प्रतिद्वन्द्वीलाई पछारेर अंक तालिकाको शिर्ष स्थानमा उक्लनु, दुवै टोलीको प्रष्ट र एकमात्र लक्ष्य हो । तीन खेलबाट शतप्रतिशत नतिजा निकालेका दुवै टोली एकअर्काको चुनौती पन्छ्याउँन आतुर छन् । 
 
यस खेलको अर्को रमाईलो पक्ष जोसे मोउरिन्हो र पेप ग्वार्डिओला बिचको प्रतिस्पर्धा पनि हो। दुवै प्रशिक्षक आफुमा सफल रहेका छन् भने यहाँ दुवैकालागि नयाँ चुनौतीका रुपमा उपाधि रहेको छ। स्टार म्यानेजरहरुको प्रतिस्पर्धाको पनि दर्शक र मिडियाले मनोरञ्जन लिने छन्। 
 
सन् २०१३को सिजनमा मोउरिन्हो रग्वार्डिओला एक आपसमा भिडेका थिए। उक्त समयमा दुवै लालिगामा रहेका थिए। मोउरिन्होले रियाल सम्हालेका थिए भने ग्वार्डिओलाले बार्सिलोनाको कमान सम्हालेका थिए। एल-क्लासिकोको अनुभव संगालेका दुई म्यानेजरले अब म्यानचेस्टर डर्बीको अनुभव लिनेछन्। 
 
सन् २०१२-१३ संस्करणको उपाधि कब्जापछि पछिल्लो संस्करणहरुमा नराम्रोसँग गुज्रिएको युनाइटडले नयाँ सिजनमा भने सुरुवातीदेखि नै राम्रो गर्दे आफु उच्च फर्ममा रहेको छनक दिएको छ । प्रिमियर लिगको इतिहास केलाउने हो भने पनि म्यान्चेस्टर युनाइटेडले सर्बाधिक १३ पटक उपाधि चुमेको छ । 
 
त्यसो त नयाँ सिजनमा केही खेलाडीलाई कीर्तिमानी रकम खर्चेका युनाइटेड, चर्चाको शिखरमा छ । युनाइटेडले पावल पोग्बा र ज्लाटन इब्राहिमोविचलाई अनुबन्ध गरेको छ । युनाइटेडले पोग्बालाई अनुबन्ध गर्न खर्चेको कीर्तिमानी रकमले विश्व फुटबल क्षेत्र नै हलचल गराइदियो । 
 
नयाँ सिजनमा उच्च फर्ममा रहेको युनाइटेडलाई  खेलमा घरेलु मैदान र घरेलु दर्शक, दुवै फाईदा छ । 
 
दुईपटकको सिजन उपाधिमाथि कब्जा जमाइसकेको म्यानचेस्टर सिटीले पनि जारी सिजनमा आफुलाई निकै शक्तिशालीको रुपमा प्रस्तुत गरेको छ । अवे खेल भन्दैमा उसमा कति पनि विचलित हुने छाँटकाँट देखिदैन । 
 
युनाइटेड र चेल्सी सरह ९ अंक भएपनि गोल अन्तरका आधारमा सिटी शिर्ष स्थानमा छ । यसकारण पनि सिटी आफ्नो सम्भावनामाथि कसैलाई त्यति सजिलै हाबी हुन दिने सोचमा छैन । यद्धपी सिटीलाई भोलिको चुनौती सामना गर्न त्यति सहज भने छैन । भोलिको खेलमा सिटीले आफ्नो भरपर्दो स्टाइक्रर सर्जियो अगुएरोलाई गुमाउने भएको छ । 
 
वेस्टहाम विरुद्धको खेलमा विपक्षी डिफेन्डरलाई कुहिनाले मुखमा हानेपछि रेफ्रीले अगुएरोलाई तीन खेलको प्रतिबन्ध सुनाएको थियो । 
 
प्रिमियर लिगमा अहिलेसम्म युनाइटेड र सिटी १ सय ४२ पटक आमनेसामने भएका छन् । जसमा युनाइटेडले ५५ खेल र सिटीले ४१ खेल जितेको छ । २३ खेल भने दुई टोलीले बाराबारी खेलेका छन् । 
 
प्रिमियर लिग अन्तर्गत यी दुई टोलीबीचको खेलमा अहिले सम्म ३ सय ९५ गोल भएको छ । जसमा युनाइटेडले १ सय ९९ गोल र सिटीले १ सय ९६ गोल गरेको छ । प्रिमियर लिगको गत सिजनमा दुई पटक आमनेसामने भएको खेलमा एक खेल युनाटेडले जितेको थियो भने अर्को खेल बराबरी भएको थियो ।



नयाँ