arrow

विरासतको रस्साकसीमा कास्की-२, कसले मार्ला बाजी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
Shreenath & Bidhya.jpg

पोखरा । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी सहितको वाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् ।

त्यसअघिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्र अधिकारीले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो बिरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ । आसन्न निर्वाचनमा एमाले उक्त बिरासत जोगाउने कसरतमा त छ ।

तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त बिरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ ।

अहिलेको निर्वाचनमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् भने नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई निकै चासो र रोचक रुपमा हेरिएको छ ।

२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले २७ हजार दुई सय सात मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार छ सय ६१ मत प्राप्त गरेका थिए । अधिकारी त्यसअघि २०६४ र २०७० मा भएको संविधानसभाको निवार्चनमा पनि यस क्षेत्रबाट निर्वाचित बनेका थिए ।

हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधनपछि २०७६ को उपनिर्वाचनमा २४ हजार तीन सय ९४ मत ल्याएर अधिकारी पत्नी भट्टराई विजयी बन्दा उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार नौ सय ९९ मत प्राप्त गरेका थिए । 

२०७४ मा एमाले माओवादीसहितको वाम गठबन्धन रहेकोमा उपनिर्वाचनसम्म आइपुग्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेका कारण पनि विद्यालाई जित्न सजिलो भएको थियो । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ ।

नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । 

अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन छ । यस निर्वाचन क्षेत्रमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतले गठबन्धनलाई बलियो देखाउँछ ।

यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये ६ वडामा कांग्रेसका वडाध्यक्षले विजयी प्राप्त गरेका छन् भने पाँच वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २१ हजार एक सय ६४ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय मत प्राप्त गरेका थिए । 

यस्तै एकीकृत समाजवादीका उम्मेदवारले दुई हजार ५३ मत प्राप्त गर्दा राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले दुई हजार ७९ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवारले एक हजार एक सय ९८ मत पाउँदा स्वतन्त्रसहित अन्य दलले सात सय ५० मत पाएका थिए । 

वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । कास्की क्षेत्र नं. २ निर्वाचन क्षेत्र बदलिरहने क्षेत्रमा पर्दछ ।

२०४८ देखि २०६४ सम्म तीनवटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा २०६४ देखि २०७० सम्म चार वटा क्षेत्र कायम गरिएको थियो । तर २०७४ पछि पुनः तीन वटा निर्वाचन क्षेत्र कायम भएका छन् । पछिल्लो भौगोलिक संरचना अनुसार यो क्षेत्र साविक तीन नम्बरका अधिकांश वडा मिलाएर बनाइएको छ । 

यसअघि तीन नम्बर क्षेत्रका सात र दुई नम्बरका चार वटा वडा हाल यस क्षेत्रमा पर्दछन् । पहिलेका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले तीन नम्बरका हुन् भने बाँकी ११, १५, १६ र २० भने दुई नम्बर क्षेत्रमा पर्दथे ।

२०६४ अघि दुई नम्बर क्षेत्र आठ वटा तत्कालीन गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनाइएको थियो । यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्दथे । 

विसं २०४६ को प्रजातन्त्रको पुनःस्थापनापछि भएका छ वटा संसदीय निर्वाचनमा हालको यस क्षेत्रले चर्चेका स्थानमा पाँच पटक एमालेले चुनाव जितेको छ भने एक पटक मात्र कांग्रेसले जितेको छ ।

यस क्षेत्रबाट महादेव गुरुङ कांग्रेसबाट विजयी बनेका थिए । नेकपाबाट तुलबहादुर गुरुङ र रवीन्द्र अधिकारी हुँदै विद्या भट्टराई विजयी बने । तुलबहादुर गुरुङ क्षेत्रमा गुरुङ दुई पटकसम्म विजयी बने भने अधिकारी तीनपटक विजयी बने ।

अधिकारीसँग पहिलो संविधानसभामा माओवादीका झलकपाणि तिवारी पराजित बने भने दोस्रो संविधानसभा चुनावमा कांग्रेसका शोभियतबहादुर अधिकारी पराजित भए । तेस्रो पटक चुनाव जित्दा अधिकारीसँग कांग्रेसका देवराज चालिसे निकटतम् प्रतिस्पर्धी थिए  भने त्यसअघि गुरुङसँग दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित बनेका थिए ।
    
यस क्षेत्रमा पोखरा महानगरका सबै वडा परे पनि अधिकांशतः विकासको दृष्टिले पछि परेको मतदाताको गुनासो छ । महानगरका रुपमा विभिन्न किसिमका कर तथा तिरो तिर्ने गरे पनि महानगरको अनुभूति गर्न नपाएको पोखरा-३३, भरतपोखरीका मतदाता सुनिल लामिछाने बताउँछन् । “हाम्रा लागि महानगरको घोषणा केबल पहिचान मेटिने, डाँडाकाँडा भेटिने जस्तै भएको छ”, उनले भने, “कर महानगरकै तिरेर पनि महानगरवासीको अनुभूति गर्न पाएका छैनौँ ।” भरतपोखरीका चवादी, कुर्लिङ, सिङगारेवास लगायतका धेरै गाउँ तथा बस्ती विकासमापछि परेको उनले बताए ।

यस क्षेत्रको विकासका लागि नीतिगत योजना आवश्यक रहेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनाथ बराल बताउछन् । यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको सम्बोधनसँगै गरिबीको रेखामुनी रहेको सर्वसाधारणलाई स्वरोजगार बनाउने किसिमका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

कृषिको आधुनिकीकरणसँगै सडक, खानेपानी, विद्युत् लगायतका पूर्वाधार विकासका योजनालाई अघि बढाउने उनले विश्वास व्यक्त गरे । महानगर भएर पनि विकास लगायतका कारण महानगरको अनुभूति गर्न नपाएका सर्वसाधारणलाई त्यसको अनुभूति हुने गरी समृद्धि र विकासका योजना ल्याउनु जरुरी भएको उनले बताए । महानगरका ११ वडा समेटिएको यस क्षेत्रमा महानगरीय विकासको मोडल स्थापित गर्नुपर्ने नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई बताउछिन् । 

प्राकृतिक साधनस्रोतले सम्पन्न यस क्षेत्रमा यहाँका प्राकृतिक सम्पदाको संरक्षण र उपयोग गर्ने किसिमले अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । हिमाललाई एकसाथ अवलोकन गर्न सकिने स्थानको संरक्षण र विकाससँगै प्राकृतिक रुपमा रहेको गुफालाई पर्यटकीय रुपमा जोड्नेलगायतका योजना आफूसँग रहेको उनले बताइन् । गरिबी एवं पिछडीएका वर्ग समुदायको समुत्थान पनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

गठबन्धन र एमालेका साथै अन्य दल तथा स्वतन्त्र उम्मेदवार पनि निर्वाचनलाई आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई तीव्र पारेका छन् । प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधब कँडेल भ्रष्टाचारको अन्त्यसहित सुशासन कायम गर्ने लक्ष्यका साथ आफू चुनावी प्रतिस्पर्धामा उत्रेको बताउछन् । 

जनताको अवस्थामा सुधारका लागि गरिबीको रेखामुनी रहेका वर्ग समुदायका लागि रासन कार्डको व्यवस्था लगायतका योजना अघि सारिएको उनले बताए । हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका चेतबहादुर महत कृषिको आधुनिकीकरण, पर्यटनको विकाससँगै यस क्षेत्रमा रहेको सुकुम्वासी समस्याको समाधान आफ्नो प्रतिबद्धतामा रहेको बताउछन् । यस क्षेत्रका धार्मिक सम्पदालाई पुरातत्वसँग जोड्नु अपरिहार्य भएको उनले बताए । 

कूल ७९ हजार एक सय ३८ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क)मा ४२ हजार दुई सय ८२ र प्रदेशसभा (ख) मा ३६ हजार आठ सय ५६ मतदाता छन् । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ