arrow

केपी ओलीले जनमतलाई अपमान गरे – घनश्याम भुषाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
ghanashyam-bhusal-2079-07-13.jpg

बुटवल । नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेता घनश्याम भुषालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो निर्वाचनमा पाएको जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । 

‘अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाइ जनमत हासिल भएको थियो, तर ओलीले त्यसलाई आफ्नो दाइजो ठानेर जनमतकै अपमान गरे’, भुषालले भने । 

रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुषालले प्राप्त जनमतलाई तत्कालीन नेकपाका अध्यक्ष ओलीले दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने तर्क गरे । धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुषालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए ।

नेता भुषालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । ओलीको दम्भकै कारण कैयौं निष्ठावान नेताको भविष्य समाप्त भएको भुषालको टिप्पणी थियो । निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएकोप्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुषालले तर्क गरे ।

नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?’, उनले भने ।

त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो शर्त भएको बताए । कार्यक्रममा रुपन्देही १ को प्रदेश सभा (१) का उम्मेदवार विश्वनाथ यादव र (२) का अब्दुल रज्जाकले पनि संविधानको रक्षा र उचित कार्यान्वयनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपील गरे । 

रुपन्देही १ मा एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेबाट विद्रोह गरेका अर्का नेता टिकाराम चापागाईं प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ