काठमाडौँ । एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेका छन् । नेता नेपाल र प्रधानमन्त्री दाहालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको बताइएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा दुवै नेताबीच माओवादी केन्द्र र एमालेबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भयो ।
प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत एमाले नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।
संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहालले केही दिन अघि मात्रै आफु भारत जानुअघि जानकारहरुसंग भेट गर्ने बताएका थिए ।